सुन तस्करी- उच्चस्तरीय छानबिनको मागबाट पछि नहट्न एमालेलाई सत्तापक्षकै नेताहरूको दबाब

सुन तस्करी- उच्चस्तरीय छानबिनको मागबाट पछि नहट्न एमालेलाई सत्तापक्षकै नेताहरूको दबाब

काठमाडौं : सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गरिरहेको प्रमुख विपक्षी नेकपा एमालेलाई सत्तापक्षकै नेताहरूले साथ दिएका छन् ।

सरकारले उच्चस्तरीय छानबिन समिति वा आयोग बनाउने सहमति जनाएमात्र संसद चल्न दिने भनिरहेको एमालेलाई माओवादीकै नेता वर्षमान पुनलगायतले पनि अडानबाट पछि नहट्न भनिरहेका छन् ।

पुनले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरीलगायतका नेतासँग अनौपचारिक संवादमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा आफू पनि रहेको भन्दै अडानमा कायम रहन आग्रह गरेका हुन् ।

त्यसो त नेता पुनले सुन तस्करीमा आरोपित व्यक्तिसँगको आफ्नो पुरानो फोटोसमेत राखेर समाचार आएपछि माओवादी पदाधिकारी बैठकमै उच्चस्तरीय आयोग गठनको प्रस्ताव राखेका थिए ।

एमाले संसदीय दलका एक पदाधिकारीले भने, ‘सरकारका अर्थ र गृहमन्त्रीमाथि नै प्रश्न उठेकाले उनीहरूले गर्ने छानबिनबाट तस्करीको सत्य तथ्य बाहिर आउँदैन भन्नेमा लगभग सबै दल सहमत भएका छन् । कांग्रेस, जसपालगायत सत्तापक्षका सांसदहरूले त साथ दिएकै थिए अब माओवादीकै पनि केही नेताहरुले खबरदार अडान छाड्नुहोला भन्न थालेका छन् । त्यसैले उच्चस्तरीय छानबिन आयोग गठनबाट पछि हट्ने अवस्था छैन ।’

विगत करिब ४ महिनाको अवधिमा ३० क्वीन्टलभन्दा बढी सुन विमानस्थलबाट निर्वाधरूपमा बाहिरिएको प्रारम्भिक निष्कर्ष छ । त्यसैले यो प्रकरणको जरैसम्म पुग्न पूर्व वा वहालवाला न्यायाधीशको अध्यक्षतामा विज्ञहरू सम्मिलित उच्चस्तरीय आयोग वा समिति गठन गर्नुपर्ने एमालेको अडानमा सत्तापक्षकै नेताहरूले साथ दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।

उच्चस्तरीय छानबिनको प्रतिबद्धता सरकारबाट नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने एमालेले भनेपछि सोमबारको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । आज पनि सरकारबाट उच्चस्तरीय छानबिनको प्रतिबद्धता नआए सदनको नियमित कारबाही अघि बढ्न नसक्ने एमालेका प्रमुख सचेतक गिरीले बताए । -नेपालप्रेसबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार