माओवादी केन्द्रको बैठकमा चर्किदै सुन तस्करी प्रकरण

माओवादी केन्द्रको बैठकमा चर्किदै सुन तस्करी प्रकरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ । सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला बैठकमा छानविन गरी कारवाही गर्न माग उठेको छ ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा सुन तस्करीमा पार्टीका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरामाथि छानविन हुनुपर्ने माग उठेको छ । महरा सुन तस्करीमा संलग्न रहेको भनेर सार्वजनिक रुपमा प्रश्न उठेपछि उनीमाथि छानविन हुनुपर्ने माग बैठकमा उठेको हो ।

प्रतिनिधि सभाका सदस्य समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सार्वजनिक रुपमा प्रश्न उठेकाले महरामाथि पनि छानबिन गरिनुपर्ने माग बैठकमा गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेको अवस्थामा यसलाई छानबिन गरेर प्रष्ट पार्नुपर्ने दाहालको माग छ ।

यदि अहिले छानबिन नगर्ने हो भने पार्टीले उन्मुक्ती दिएको भनि सधैं प्रश्न उठ्ने भएकाले त्यसको निवारणका लागि पनि छानबिन हुनुपर्ने दाहालले तर्क रहेको छ । अनुसन्धानबाट ‘किल्न चिट’ नपाएसम्म प्रश्न उठ्ने र आरोप लाग्नेक्रम चलिरहने भएकाले छानबिनबाटै यसको किनारा गर्नुपर्ने उनले बताए ।

केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रक सिगरेट (भेप)मा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महराको नाम जोडिएको थियो । सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएको थियो ।

उक्त सुन प्रकरणका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा पनि महरा र उनको छोराको चीनियाँ नागरिकसँग सम्पर्क तथा सम्बन्ध भएको र विमानस्थल भन्सार कार्यालयमा पनि लिलामीको ’boutमा चासो राखेको उल्लेख थियो । तर उक्त प्रकरणमा उनीहरुमाथि बयान समेत नलिइ अभियोग पत्र दायर भएपछि अहिले सार्वजनिक प्रश्न उठिरहेको छ ।

यस्तै सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नाम समेत जोडिदै आएको छ । यधपी महरा र पुनले आफूहरु तस्करीमा संलग्न नभएको प्रष्टीकरण दिदै आएका छन् । दुबै नेताले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानविन हुनुपर्ने सुझाव पार्टीमा राख्दै आएका छन् ।

यसैगरी पूर्व सभामुख समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले पार्टीभित्र गम्भीर प्रश्नहरु देखिएको बताए । बैठकमा शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म र पार्टीको गतिविधिका सन्दर्भमा समेत प्रश्न उठेको भन्दै सापकोटाले प्रश्न उठेपछि समाधान पनि खोज्नुपर्ने बताए ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक एवं सांगठनिक प्रतिवेदनका साथै समसामयिक राजनीतिको ’boutमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको सचिव दिनानाथ शर्माले बताए ।

यसैबीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले सचिवालयमा छोराछोरी, ज्वाई राखेको र यिनिहरुका कारण पार्टीले बदनामी खेप्नुपरेको कुरा उठेपछि त्यसको प्रतिवाद गर्न प्रचण्ड पुत्री गंगा दाहालले अभियान चलाएकी छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नै छोरीलाई स्वकीय सचिव नियुक्त गरेको र बालुवाटारमा छोरी–ज्वाइँ हाबी भएको भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गर्न थालेपछि गंगाले आफूनिकट नेताहरूलाई प्रतिरक्षा गर्न आग्रह गरेकी छन् ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, आफू र श्रीमान जीवन आचार्यमाथि चर्को टिकाटिप्पणी भइरहेकोमा असन्तुष्टी पोख्दै प्रतिरक्षामा उत्रिन आफूनिकट केन्द्रीय सदस्यलाई भेटेर, फोनबाट र ह्वाट्स एपमा सन्देश पठाइरहेको एक केन्द्रीय सदस्यले बताए । -आजको राजधानी दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार