सुदूरपश्चिममा गौरा पर्वका अवसरमा भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा

सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । यो सँगै दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । 

गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ । यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान शिवशङ्करको उपासना गरिन्छ ।

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागी निराहार व्रत बस्ने गर्दछन् । उनीहरूले पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन रहेको छ ।

त्यसै दिन विरुडालाई गौरादेवीको प्रसादका रूपमा बाडेर खाने गरिन्छ । गौरा पर्वमा दैवी गाथा गाउने गरिन्छ भने देउडा खेलेर मनोरञ्जन गर्ने सामाजिक परम्परा रहेको छ । 

गौरा पर्वका अवसरमा कतिपय ठाउँमा मेला समेत लाग्ने गर्दछ । पछिल्ला वर्षमा गौरा पर्वका दिन सुदूरपश्चिमवासीले काठमाडौँको खुलामञ्चमा औपचारिक रूपमा गौरा पर्व मनाउँदै आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार