घोडाघोडी अस्पतालबाट बिमा सेवा हटाइएपछि…

बिमा

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका-१ का ३९ वर्षीय विजय लामिछानेले पाँच वर्षअघि स्वास्थ्य बिमा गरेका थिए । उनको परिवारमा तीन जना सदस्य दीर्घरोगका बिरामी छन् । उनको परिवारबाट स्वास्थ्य बिमाको सेवा ६ जनाले लिइरहेका छन् ।

बिमा गरेसँगै उनले घोडाघोडीको सुखडमा रहेको निजी अस्पताल ‘घोडाघोडी अस्पताल’बाट राम्रो सेवा लिइरहेका थिए । घर पायक पर्ने अस्पतालमा सहुलियत दरमा उपचार हुने, खासै बिरामीको चाप नहुने, दक्ष जनशक्ति र गुणस्तरीय सेवा पाइरहेका उनी केही समय अघि मक्ख थिए । अस्पतालमा अहिले स्वास्थ्य बिमा सेवा बन्द भएपछि उनी चिन्तित भएका छन् ।

केही दिन अघि अस्पतालबाट स्वास्थ्य बिमा सेवा हटाइएको थाहा पाएपछि आगामी दिनमा उपचारमा समस्या हुन सक्ने भन्दै गुनासो पोख्छन् । घर नजिकै रहेको अस्पतालबाट पाइरहेको बिमा सेवा हटाइँदा निम्न वर्गका परिवारको घाँटी निमोठिएको उनी बताउँछन् । निजी अस्पतालमा सेवा सुविधा राम्रो पाएपनि सामान्य व्यक्तिलाई आर्थिक अभावका कारण स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहन बाध्य रहेको लामिछाने बताउँछन् ।

‘घोडाघोडीमा बिमा सेवा हुँदा उपचार सहज थियो । अब हामीले सेवा पाउने भनेको धनगढीको सेती अञ्चल अस्पतालबाट हो तर त्यहाँबाट सेवा लिन धेरै किसिमका झन्झट पार गर्नुपर्छ,’ उनी भन्छन्, ‘मासिक रुपमा अस्पताल धाइरहनुपर्ने र दैनिक औषधीको साहारामा बाँच्नुपर्छ । निजी अस्पतालमा उपचार गर्न खर्च धेरै लाग्छ । यहाँ सरकारी अस्पताल छैन । सरकारी अस्पतालबाट सेवा लिन जाँदा समय धेरै लाग्ने र उपचार पनि राम्रो नहुने समस्याहरु धेरै भोग्नुपर्छ ।’

घोडाघोडीमा हालसम्म सरकारी अस्पतालको निर्माण हुन सकेको छैन । नगरपालिकाले नगर अस्पताल बनाउने योजना बनाएपनि अहिलेसम्म अस्पताल कहिले बन्ने भन्ने टुङ्गो छैन । यसो हुँदा नगरवासीहरु सस्तो उपचार खोज्दै टीकापुर, जोशीपुर, लम्की, धनगढीलगायत सहर र बाहिरी जिल्लासम्म पुग्न बाध्य छन् । आगामी दिनमा स्वास्थ्य बिमा नवीकरण नगर्ने स्थितिमा पुगेको बिमित लामिछाने बताउँछन् ।

घोडाघोडी ८ की इभावती गुरुङ दीर्घ रोगकी बिरामी छन् । उनलाई सुगर, दम, ढाडको समस्यालगायत अन्य विभिन्न समस्या बेला-बेला आइ लाग्छन् । उपचारका लागि ठूलो खर्च जुटाउन उनको परिवारको आम्दानीको स्रोत पछि छैन । सरकारले स्वास्थ्य बिमा लागु गरेपछि गाउँ गाउँमा सहजकर्ता खटाइएको थियो । गाउँकै एक जना महिला सहजकर्ताबाट उनले स्वास्थ्य बिमा सम्बन्धि जानकारी लिएर बिमा गरेकी थिइन् । बीमा गरेपछि उपचारमा उनलाई ठूलो राहात मिलेको थियो । तर, अहिले अस्पतालमा बिमा सेवा बन्द भएपछि आफू समस्यामा परेको उनी बताउँछिन् ।

‘केही दिन अघि अस्पताल गएको बिमाको कार्ड अब चल्दैन भने । सामान्य उपचार गर्दा पनि ५/७ हजार खर्च हुन्छ । गाउँ ठाउँमै उपचार हुने अस्पताल छाडेर अन्त जाँदा त्यति खर्चले भ्याउँदैन । अब सबै पैसा खर्च गरेर दबाई पानी गर्न पनि सकिँदैन्,’ उनी भन्छिन्, ‘सरकारबाट गरिब र अशक्तले यही सुविधा पाएका थिए । त्यही पनि बन्द भयो ।’ घोडाघोडीमा स्वास्थ्य बिमा बन्द हुँदा आर्थिक रुपमा कमजोर भएका परिवारलाई बढी समस्या परेको बीमा सहजकर्ता मालती विकले बताइन् । पालिकामा अधिकांश न्यून आय स्रोत भएका परिवारको बसोबास छ ।

जसलाई दुई छाक खाना जुटाउन समेत मुस्किल पर्छ । पालिकामा धेरैजसो त्यस्ता परिवारमा दीर्घरोगका बिरामी भएका कारण उपचारमा सहुलियत हुने भएका कारण बिमा गर्ने बिमितहरु थिए । बाहिरी जिल्लामा गएर उपचार गर्न नपर्ने र शल्याक्रियाको समेत घोडाघोडी अस्पतालमै सुविधा हुँदा अधिकांश बिमितहरु अस्पतालबाट सन्तुष्ट थिए । तर, अहिले अस्पतालमा बिमा सेवा बन्द हुँदा बीमितहरु मर्कामा परेको उनको भनाइ छ । यता, अस्पतालमा पनि बिमा सेवा बन्द भएपछि बिरामीको चाप घटेको अस्पतालका सूचना अधिकारी स्वमेन्द्र चौधरीले बताए ।

पछिल्लो समय घोडाघोडीका बिरामीहरु सरकारी अस्पताल खोज्दै लम्की चुहा, टीकापुर धनगढीलगायतका ठाउँमा पुग्न बाध्य भएको उनले जानकारी दिए । स्वास्थ्य बिमा बोर्डको ३२ साउन २०८० बसेको बैठकले अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका निजी अस्पतालहरूबाट बिमा सेवा हटाइएको जनाएको हो ।

जसअन्तर्गत कैलालीबाट चार स्वास्थ्य संस्थामा प्रदान गर्दै आएको स्वास्थ्य बिमा सेवा बन्द गराएको छ । गेटा आँखा अस्पताल, घोडाघोडी हस्पिटल, लाल रत्न हस्पिटल र नवजीवन हस्पिटलबाट बिमितले सेवा लिँदै आएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार