धनगढीस्थित फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम चार वर्षदेखि अलपत्र

अहिलेसम्म यसको डीपीआर बनाउने प्रक्रिया पनि सुरु भएको छैन ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम चार वर्षदेखि अलपत्र
तस्बिर: मुकेश चौधरी

धनगढी : कैलालीको धनगढीस्थित रहेको फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम चार वर्षदेखि अलपत्र परेको छ । धनगढी–४ स्थित फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान तथा खेल ग्रामको रुपमा विकास गर्ने सरकारले घोषणा गरेको चार वर्ष बितेको छ । तर, अहिलेसम्म यसको डीपीआर बनाउने प्रक्रिया पनि सुरु भएको छैन ।

सुदूरपश्चिमका क्रिकेटर र क्रिकेटप्रेमीहरुले ‘ड्रिम फाप्ला’ अभियान चलाएपछि दबाबमा आएर प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन बजेट व्यवस्था गरेको थियो । त्यस वर्ष प्रदेश सरकारले ६० लाख रुपैयाँ खर्च गरेर मैदान घेराबार गरेको थियो । अहिले संरक्षण र सुरक्षाको अभावमा मैदान गौचरन बनेको छ ।

प्रदेश सरकारले फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ । तर, बजेट खर्च हुन सकेको छैन । अर्कोतिर संघीय सरकारले २०७९ वैशाख २६ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेपछि यो योजना प्रदेश सरकारको बजेटमा परेको छैन । नेपाल सरकारले २०७९ मा ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठनादेश’ जारी गरी समिति पनि गठन गरेको छ ।

२०७९ जेठ २३ गते सरकारले ‘ड्रिम फाप्ला’ का अभियन्ता सुवास शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्ष मनोनित गरेको थियो । तीन वर्षको लागि समिति गठन भएको एक वर्ष तीन महिना बितेको छ । यो समितिले पूर्वाधार निर्माणको लागि डीपीआर बनाउने प्रक्रियासमेत सुरु गर्न सकेको छैन । १५ अर्ब रुपैयाँ लागतमा पाँच वर्षमा निर्माण सक्ने गरी गुरुयोजना भने निर्माण गरिएको छ ।

२०७८ माघ २४ मा सरकारले सो मैदानका लागि ३८ बिघा जमिन उपलब्ध गराएको थियो । समिति गठन भइसकेपछिको एक वर्ष कार्यालय स्थापना र कर्मचारी भर्नामै सकिएको समितिका अध्यक्ष शाहीले बताए । ‘खासै बजेट पनि दिएको थिएन । आर्थिक वर्ष २०७९/८० कार्यालय स्थापना र कर्मचारी भर्ना गरेर सकियो,’ उनले भने ।

अध्यक्ष शाहीका अनुसार समितिले क्रिकेट मैदान र खेल ग्राम बनाउनका लागि भर्खरै तयारी सुरु गरेको छ । संघीय सरकारले समितिलाई डीपीआर बनाउन र कार्यालय व्यवस्थापन गर्नका लागि चालु वर्षमा ७५ लाख रुपैयाँ बजेट दिएको छ । अध्यक्ष शाहीले डीपीआर बनाउन टेण्डर गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘प्रमुख कुरा डीपीआर नै हो । डीपीआर राम्रो बनेपछि निर्माण पनि राम्रो हुन्छ । त्यसैले हामीले पूर्वतयारीमा जोड दिइरहेका छौं ।’

धनगढी प्रिमियर लिग (डीपीएल) सञ्चालन गर्ने मैदान नभएपछि फाप्ला मैदान रोजिएको थियो । त्यसपछि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन आठ वर्षपहिले ‘ड्रिम फाप्ला अभियान चलाइयो । धनगढीलाई क्रिकेटको हब बनाउने लक्ष्यका साथ सञ्चालन गरिएको ‘ड्रिम फाप्ला अभियान’ ले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम आयोजनासम्म पुर्याएको छ । तर, चार वर्षदेखि प्रदेश सरकार हुँदै नेपाल सरकारसम्म तानातान हुनमै आयोजना सीमित छ ।

आयोजना अन्तर्गत सरकारले उपलब्ध गराएको ३८ बिघा जमिनमा ७० हजार दर्शक अट्ने प्यारापिट, जिमखाना, पौडी पोखरी, क्रिकेट म्युजियम, अभ्यास खेल मैदान, अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो तथा इनडोर हल, फुटबल मैदान, पार्किङ, तालिम भवन, मिडिया सेन्टर आदि बनाउने परिकल्पना गरिएको छ ।

फाप्लासँगै जोडिएको मोहना नदीमा पर्यटन क्षेत्र, मैदान वरपर व्यापारिक केन्द्र, अतिथि सत्कार तथा पाककला क्षेत्रको रुपमा समेत विकास गर्ने गरी खेलग्रामको परिकल्पना गरिएको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम बनेपछि यहाँको व्यापार तथा पर्यटन फस्टाउनुका साथै खेलको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने आशा गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार