निर्विरोध रुपमा नेपाल क्रिकेट संघ (क्यान) काे अध्यक्षमा पुनः चतुरबहादुर चन्द

निर्विरोध रुपमा नेपाल क्रिकेट संघ (क्यान) काे अध्यक्षमा पुनः चतुरबहादुर चन्द

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नामअनुसारको काम गरेर देखाएका छन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भए, त्यो पनि निर्विरोध रुपमा ।

कांग्रेसका नेतासमेत रहेका चतुर राजनीतिमा पोख्त हुने भइहाले । सुरुमा उनलाई अध्यक्षमा कोषाध्यक्ष रोशन सिंहले चुनौति दिने तयारी गरेका थिए । उनी जिल्ला प्रदेशहरुमा गएर माहोल पनि बनाइरहेका थिए । तर, चन्दले बेलैमा सिंहलाई भेटेर थामथुम पारे । पदाधिकारीमा आफू र आफ्नो समूहलाई राम्रो स्थान दिने आश्वासन चन्दबाट पाएपछि सिंहले अध्यक्षमा लड्ने मनस्थिति परिवर्तन गरे । चन्दलाई नै समर्थन गर्न तयार भए ।

सिंहपछि चन्दका लागि अर्को सम्भावित चुनौति बन्न सक्थे राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का । नेपाली क्रिकेट समर्थकमाझ अत्यधिक लोकप्रिय पारसले क्रिकेट व्यवस्थापनमा आउने घोषित लक्ष्यसहित खेलाडी जीवनबाट सन्न्यास लिएका थिए । यसैपाली जिल्ला प्रदेश हुँदै केन्द्रमै आउने पारसको तयारी थियो ।

यता, पारसलाई केन्द्रमा आउनबाट रोक्न रोशन सिंह समूह सक्रिय थियो । यदि पारस र चतुरको मिलिभगत भएमा पदाधिकारीमा आफूहरुको हिस्सा खोसिन सक्ने चिन्ता यो समूहमा थियो । रोशनले पारसलाई प्रदेशमै आउन नदिने प्रयास गरेका थिए । तर, पारसले बाग्मती प्रदेश अध्यक्ष जिते ।

एकै व्यक्तिले जिल्लादेखि केन्द्रसम्म जुनसुकै पद ओगट्न सक्ने हास्यास्पद विधान क्यानको छ । यसले गर्दा प्रदेश अध्यक्ष हुँदाहुँदै केन्द्रको कुनै पनि पदमा लड्न पारसलाई प्राविधिक समस्या थिएन । उनी सकेसम्म जित सुनिश्चित हुने गरी उम्मेदवारी दिन चाहन्थे । यसका लागि चन्दसँग साझेदारी गर्नु पारसले अपरिहार्य देखे ।

यता चन्द पनि कुनै जोखिम मोल्न चाहन्थेनन् । उनले रोशनसँग जस्तै पारससँग पनि समझदारी गरे । उनलाई सचिवमा समर्थन गर्ने बताए । यसरी एक–अर्कालाई देखिनसहने दुवै गुटलाई मिलाएर उनी शक्तिशाली बन्न सफल भए ।

अन्तिम समयमा चतुरलाई बर्दिया संघका अध्यक्ष विनय राजभण्डारीले चुनौति दिन खोजे । उनले अध्यक्ष लड्ने घोषणा गरे । विनजयबाट चतुरलाई खासै खतरा त थिएन, तैपनि उनी सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । त्यसैले आज उनले मनोनयन दर्ता हुनुअघि विनयलाई पनि फकाए ।

विनयका माग ठूला थिएनन् । नेपाली क्रिकेटको ए टिम बनाउनुपर्ने र खेलाडीलाई पूर्वघोषणा गरिएको पुरस्कार दिलाउनुपर्ने विनयका दुई माग एक महिनाभित्र सम्वोधन गर्ने चतुरले आश्वासन दिए । त्यसत भएपछि चतुरले विनयलाई आफ्नै अगाडि उनले भरिसकेको मनोनयन फाराम च्यात्न लगाए ।

यसरी चतुर क्यानको सर्वसम्मत अध्यक्ष बन्न सफल भएका छन् । यता पारसले भने सचिवमा बलिया प्रत्याशीको सामना गर्नुपर्ने भएको छ । सचिवमा उनीविरुद्ध उम्मेदवारी दिने प्रशान्तविक्रम मल्ल क्यानका पूर्वकार्यवाहक सचिव हुन् ।

उनी रोशन सिंहसँग निकट छन् । चतुरले सिंहलाई मिलाइसकेपछि पनि मल्लले सचिवमा उम्मेदवारी दिँदा पारस समर्थकको मनमा चिसो पसेको छ । पारसलाई हराउन कतै चतुरले दोहोरो खेल खेलिरहेका त छैनन् भन्ने उनीहरुको आशंका छ ।

स्मरणीय छ कि पारस राष्ट्रिय टिमको कप्तान हुँदा चतुरसँग उनको सम्वन्ध सुमधुर थिएन । बारम्बार क्यान र कप्तानको टसल पर्ने गरेको थियो । क्यानससँगको असन्तुष्टिकै कारण पारसले समयभन्दा अगाडि सन्न्यास लिएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार