दिपिका र रणवीर

दिपिका र रणवीर

बलिउडमा दिपिका पादुकोण र रणवीर सिंहको जोडी चर्चित मात्र छैन, उनीहरू रिल-लाइफ र रियल-लाइफ दुवैमा एकदमै प्रेमिल पनि देखिन्छन्।

‘बम्बे टकिज’, ‘फाइन्डिङ फेनी’, ‘राम–लीला’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ र ‘८३’ फिल्ममा सँगसँगै काम गरेका दिपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए। त्यसयता उनीहरू धेरै सार्वजनिक कार्यक्रममा सँगसँगै देखिन्छन्।

रणवीरलाई लिएर बलिउडमा एउटा भनाइ चर्चित छ — उनी दिपिकासँग कुनै समारोहमा सरिक हुने मौका कहिल्यै छाड्दैनन्। दिपिकाको जुनसुकै फिल्मको सुटिङ होस्; चाहे त्यो भारतभित्र होस् वा बाहिर, रणवीर एक न एकचोटि दिपिकालाई भेट्न सुटिङ स्थल पुगेकै हुन्छन्।

यतिसम्म प्रेमिल जोडीको पहिलो भेट कहाँ र कसरी भएको थियो?

दिपिका र रणवीरले फिल्म निर्माता–निर्देशक करण जौहरको टेलिभिजन शो ‘कफी विथ करण’ को नयाँ सिजनमा आफ्नो पहिलो भेटको घटना सार्वजनिक गरेका छन्।

डिज्ने हटस्टारका लागि निर्माण भइरहेको ‘कफी विथ करण’ को आठौं सिजनको पहिलो एपिसडमा करण जौहरको पाहुना बनेर आएका दिपिका र रणवीरले आफ्नो पहिलो भेटबारे पहिलोपटक बोलेका हुन्।

कुरा सन् २०१२ को हो।

त्यति बेला सञ्जय लीला भन्सालीको फिल्म ‘रामलीला’ को तयारी हुँदै थियो। भन्सालीले रणवीरलाई मुख्य अभिनेता र करिना कपुरलाई मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित गरेका थिए।

फिल्मको सबै तयारी पूरा भइसकेको थियो। तर सुटिङ सुरू हुनुभन्दा एक साताअघि करिनाले कुनै विशेष कारण देखाउँदै रामलीलामा खेल्न असमर्थ रहेको बताइन्।

सुटिङको पूर्वसन्ध्यामा मुख्य अभिनेत्री नै पछि हटेपछि काम रोकियो। सुटिङका लागि गरिएका सबै तयारी स्थगित भए।

यहाँ सञ्जय लीला भन्सालीलाई समस्या पर्‍यो — उनले केही दिनलाई सुटिङ स्थगित त गरे, तर धेरै दिन रोक्न सक्ने अवस्था उनको पनि थिएन। किनभने, उनले सबै कलाकार र प्राविधिकहरू अनुबन्धित गरिसकेका थिए। सबैले यही फिल्मका लागि भनेर आफ्नो डेट भन्सालीलाई दिइसकेका थिए।

एक जनाका लागि सबैको डेट रद्द गर्दा फिल्म लामो समय पछाडि सर्न सक्थ्यो, जुन सञ्जय लीला भन्साली चाहन्थेनन्।

त्यही भएर उनी धुइँपत्तालसँग नयाँ अभिनेत्रीको खोजीमा लागे। यसमा उनलाई मद्दत गर्न अघि सरे, स्वयं फिल्मका अभिनेता रणवीर सिंह।

त्यसै वर्ष दिपिका पादुकोणको ‘ककटेल’ भन्ने फिल्म रिलिज भएको थियो। सैफ अली खान र डायना पेन्टी समेतको मुख्य भूमिका रहेको त्यो फिल्म रणवीर सिंहले हेरेका थिए र उनलाई एकदमै मन परेको थियो। खासगरी फिल्ममा दिपिका पादुकोणको काम रणवीरलाई एकदमै चित्त बुझेको थियो।

त्यही फिल्मका आधारमा रणवीरले सञ्जय लीला भन्सालीसमक्ष दिपिकाको नाम प्रस्ताव गरे र उनलाई ‘ककटेल’ फिल्म हेर्न सिफारिस पनि गरे।

त्यति बेलासम्म भन्सालीले दिपिकाको कुनै फिल्म हेरेका थिएनन्। जसै उनले ‘ककटेल’ हेरे, उनी पनि दिपिकाको कामबाट प्रभावित भए।

रणवीरले प्रस्ताव गरेको दिपिका ‘रामलीला’ का लागि उपयुक्त हुन्छ कि हुँदैन भनेर सञ्जय लीला भन्सालीले आफ्ना सहायक निर्देशक, लेखक र निर्माण टोलीका अन्य सदस्यहरूसँग सरसल्लाह गरे। सबैलाई दिपिकाको काम चित्त बुझ्यो। उनीहरूले एकचोटि दिपिकालाई भेटेर कुराकानी गर्ने निधो गरे।

त्यसपछि भन्सालीले दिपिकाको निम्ति फिल्मको ‘स्क्रिप्ट रिडिङ सेसन’ आयोजना गरे। यो भनेको सुटिङअघि कलाकारहरूको निम्ति गरिने यस्तो कार्यक्रम हो, जसमा फिल्मका लेखक वा निर्देशकले सम्पूर्ण पटकथा र संवादसहितको स्क्रिप्ट पढेर सुनाउँछन्।

भन्सालीले मुम्बईको बर्सोवास्थित आफ्नै घरमा ‘स्क्रिप्ट रिडिङ सेसन’ राखेका थिए, जसमा दिपिकाका अतिरिक्त रणवीर सिंहलाई पनि डाकिएको थियो।

रणवीरले पहिले नै धेरैचोटि स्क्रिप्ट पढिसकेका भए पनि उनी दिपिकासँगै बसेर स्क्रिप्ट सुन्न भन्सालीको घर पुगे।

‘त्यस दिन म दिपिकाभन्दा पहिल्यै भन्सालीको घर पुगेको थिएँ,’ कफी विथ करणमा रणवीर भन्छन्, ‘म बैठक कोठामा बसेर कुरिरहेको थिएँ। ढोका मेरो देब्रेतिर थियो।’

उनले अगाडि भने, ‘भन्सालीको घर समुद्री किनारमा छ। बैठक कोठामा चौबीसै घन्टा समुद्रको ताजा हावा आइरहन्छ। म मन्द हावा खाँदै आफ्नै सुरमा थिएँ। त्यही बेला मेरो देब्रेतिरको ढोका घरक्क खुल्यो। मैले सुरूमा सञ्जय लीला भन्साली आएका होलान् भन्ने अन्दाज गरेको थिएँ। तर ढोकाबाट जसको प्रवेश भयो, उनलाई देखेर म हेरेको हेर्‍यै भएँ।’

उनी थिइन्, दिपिका पादुकोण। ‘उनले सेतो कुर्ता लगाएकी थिइन्। जसै उनी कोठाभित्र छिरिन्, समुद्री लहरबाट बगेको शितल हावाले उनको खुला केश लहराउन थाल्यो। मलाई यस्तो लाग्यो, यिनी त साक्षात् ‘सादगीकी मूरत’ हुन्। ओ माई गड!’

त्यो पहिलो भेटमै दिपिका र रणवीरबीच यस्तो सम्बन्ध गाँसियो, जुन आज पनि उत्तिकै गाडा र प्रेमिल छ।

सञ्जय लीला भन्सालीले त्यही स्क्रिप्ट सेसनलगत्तै ‘रामलीला’ का लागि दिपिकालाई अनुबन्धित गरे।

यो फिल्म सन् २०१३ नोभेम्बर १५ मा रिलिज भयो र व्यावसायिक रूपमा सुपरहिट भयो। फिल्मले त्यति बेला २२० करोड भारूभन्दा बढीको कारोबार गरेको थियो। यसबाट दिपिकाले उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्डसमेत प्राप्त गरिन्।

त्यसपछि सञ्जय लीला भन्सालीको ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ मा पनि दिपिका र रणवीरले सँगसँगै काम गरे। -सेतोपाटीबाट साभाभर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार