LPL-8 : तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी र शुक्लाफांटा ब्ल्याकबक्स विजयी

LPL-8 : तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी र शुक्लाफांटा ब्ल्याकबक्स विजयी

धनगढी: कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन्।

समुह ‘सी’ अन्तर्गतको आजको पहिलो खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपस्चिमान्चल एकेडेमीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो। प्रतियोगितामा सुदूरपस्चिमान्चलको यो दोश्रो हार हो।

सुदूरपस्चिमान्चलले दिएको १११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

घोडाघोडीको ब्याटिंगमा ओपनर बिपिन बिक्रम शाहीले सर्वाधिक ३१ रन योगदान दिए। सन्जय बोहराले २२ तथा कृष कार्कीले २० रन बनाए। ८१ रनमा ६ विकेट गुमेको अवस्थामा सन्जय र कृषले अविजित ३२ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

सुदूरपस्चिमान्चलको बलिंगमा बिरेन्द्र चन्द र पारस सुनारले २/२ तथा सौर्य श्रेष्ठ र निसान रेग्मीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सुदूरपस्चिमान्चल एकेडेमीले १८.५ ओभरमा ११० रनमा सबै विकेट गुमायो।

सुदूरपस्चिमान्चलको लागि आशिष लुहारले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले ३६ बलमा १ चौका र ४ छक्का प्रहार गरे। सन्दिप बिस्टले २७ तथा किरण कार्कीले १४ रन बनाए।

घोडाघोडी क्रिकेट एकेडेमीका हरिश बस्नेत एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। यस्तै संजय बोहराले ३ विकेट लिए भने कृष कार्कीले २ तथा भुपेश जोशीले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अलराउण्ड योगदान दिएका संजय बोहरा घोषित भए।

आजको दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले विजयी सुरुवात गर्ने क्रममा खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ११२ रनको विशाल अन्तरले पराजित गरेको छ।

शुक्लाफांटाले दिएको १७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रन मात्र बनायो।

खप्तडको लागि पुकार चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खप्तडलाई सस्तोमा सिमित गर्न शुक्लाफांटाका दायाँ हाते पेसर कैलाश ऐर एक्लैले ५ विकेट लिए। प्लेयर अफ द म्याच घोषित ऐरले ३.१ ओभरमा १५ रन खर्चिए। सुशील रावल, भरत चन्द, बसन्त खत्री र सुरज तिरुवाले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनायो।

शुक्लाफांटाको लागि ओपनर अशोक बिस्टले सर्वाधिक ४१ रन योगदान दिए जुनक्रममा उनले ३५ बलमा ६ चौका प्रहार गरे। किरान ठगुन्नाले २२ बलमा ४ चौका र २ छक्का मद्दतले ३५ रन बनाए। बसन्त खत्रीले २३ तथा लोकेश जोशीले २० रन बनाए।

खप्तड इन्डोर स्पोर्ट्सको बलिंगमा रवी बिस्टले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा २१ रन खर्चिए। प्रकाश पाण्डेले २ तथा मुकेश बिस्ट, नगेन्द्र उपाध्याय र दिपक टमाटाले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत चौंथो दिन पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे आयोजक लिटल फ्लावर र घोडाघोडी क्रिकेट एकेडेमी बीच तथा दोश्रो खेल १ बजे कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टर बीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

LPL-8 : तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी र शुक्लाफांटा ब्ल्याकबक्स विजयी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार