चुरे–मोहन्याल सीमा विवाद चुलिँदै

चुरे–मोहन्याल सीमा विवाद चुलिँदै

धनगढी : कैलालीका केही स्थानीय तहमा लामो समयदेखिको सीमा विवाद अझै सुल्झिएको छैन । सामान्य विवाद अन्य पालिकामा भएता पनि कैलालीका दुई पहाडी गाउँपालिका चुरे र मोहन्यालको सीमा विवाद जटिल अवस्थामा छ ।

मोहन्याल गाउँपालिकाको छिमेकी गाउँपालिका तथा नगरपालिकाका रूपमा बर्दगोरिया, घोडाघोडी र लम्कीचुहा रहेका छन् । सीमासम्बन्धी सामान्य विवाद बर्दगोरिया र घोडाघोडी नगरपालिकासँग रहे पनि पछिल्लो समय लम्कीचुहा नगरपालिकासँग बढी नै विवाद चुलिएको छ । मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले मोहन्याल गाउँपालिका क्षेत्रभित्र हस्तक्षेप गर्दै ढुङ्गा, बालुवा, गिट्टी उठाउँदै आएको लम्कीचुहा नगरपालिकाले भौतिक संरचना निर्माणको कार्यसमेत गर्न थालेपछि विवाद चुलिएको बताए । 

उनले पटक पटक लम्कीचुहा नगरपालिकाका नगरप्रमुख शुशीला शाहीसँग छलफल गरेर मौखिक सहमति गरे पनि व्यवहारमा कार्यान्वयन नभएको बताए । अध्यक्ष उपाध्यायले भन्नुभयो, “हुँदा हुँदा अब त प्रदेश सरकारको सहयोगमा मोहन्याल गाउँपालिकाभित्र पर्ने आमपानी पर्यटकीय क्षेत्रमा हस्तक्षेप गर्दै भौतिक संरचनाको योजना बनाउन थालिएको छ, हामीसँग कुनै सल्लाह नै भएको छैन ।”

आमपानी चुरेको फेदीमा अवस्थित पर्यटकीय क्षेत्र हो । पछिल्लो केही वर्षयता आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । चुरे गाउँपालिकाको सीमा विवादको समस्या पहिलो गाउँपालिका सरकार हुँदादेखि कै हो । साबिकको खैराला, निगाली र सहजपुर गाविस मिलेर बनेको चुरे गाउँपालिकाको गोदावरी र गौरीगङ्गा नगरपालिका छिमेकी पालिकाको रूपमा रहेका छन् । 

चुरे क्षेत्र भएर बग्ने आधा दर्जनभन्दा बढी खोला नदी गौरीगङ्गा नगरपालिका भएर बग्छन् । नगरपालिकामा जनप्रतिनिधि चयन भएदेखि गौरीगङ्गा नगरपालिकाले नियम मिचेर चुरे क्षेत्रमा पर्ने नदीबाट गिट्टी बालुवा उत्खनन गर्दै आएको आरोप चुरे गाउँपालिकाको छ । पटक पटक चुरे जोखिममा पर्ने गरी गरिएको नदी उत्खनन कार्य रोक्न पहल गर्दासमेत बलमिचाइ गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । 

प्रदेश सरकारले समेत कुनै सुनुवाइ नगरेपछि गाउँपालिकाले उक्त कार्य रोक्न सर्वोच्चमा मुद्दा दर्ता गरिएको बताइन्छ । अध्यक्ष बोगटीले अघिल्लो वर्षको पुस ४ गते सर्वोच्चले वातावरण बिग्रने, चुरे दोहन, भूक्षयले बस्ती विनाश हुने भन्दै उत्खननमा रोक लगाएको बताए। 

उहाँका अनुसार कालीखोला, बालुवा खोला, बाटेगडा खोला, शिवगङ्गा खोला, टाकडा खोला, राजीमुवुडा र सितखाली खोलामा नदी उत्खनन नगर्न आल्पकालीन आदेश गरे पनि गौरीगङ्गाले हरेक वर्ष टेन्डर खोलेर नदी उत्खनन गर्दै आएको छ ।

अध्यक्ष बोगटीले भन्नुभयो, “हाम्रो कुरा न सिडियो सुन्ने न मुख्यमन्त्रीले सुन्ने रु न त जिल्ला समन्वय समितिले सुन्ने रु उनीहरू सबै गौरीगङ्गाको कुरा मात्र सुन्छन्, बलियाले कमजोरलाई हेप्ने काम भएको छ ।” -गोरखापत्रबाट    

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार