महाकाली पुल निर्माणको काम तीन महिनादेखि बन्द

महाकालीमा पुल
महाकाली पुल

कञ्चनपुरः महाकाली पुल निर्माणको काम तीन महिनादेखि बन्द छ। महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम करिब तीन महिनादेखि ठप्प छ।

बजेट अभावका कारण दसैं अगाडिदेखि बन्द भएको काम अझै सुरु हुन सकेको छैन। पुल आयोजनाको काम ९५ प्रतिशत सकिएको निर्माण कम्पनी सीएफईसी कुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए। गत वर्ष र चालु आर्थिक वर्षको करिब २५ करोड भुक्तानी हुन बाँकी छ। निर्माण सामग्री खरिददेखि कामदारको पारिश्रमिक दिनसमेत रकम अभाव भएपछि दसैं अगाडिदेखि नै काम रोकिएको हो। 

चालु आर्थिक वर्षमा आएको १८ करोडले गत वर्षकै भुक्तानी गर्न नपुगेको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म ८ किलोमिटर पहुँचमार्गमध्ये दुई किलोमिटर कालोपत्रे गर्न बाँकी छ। निर्माण कम्पनीले यसै वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य राखेको थियो। तर बजेट अभावका कारण काम ठप्प छ।

तत्काल कम्तीमा २० करोड भुक्तानी गर्न सके मात्रै काम सुरु हुन सक्ने महाकाली पुल आयोजनाका प्रमुख सीडीई रामबहादुर गुरुङले बताए। भीमदत्त नगरपालिका–१२ र दोधारा–चाँदनी नगरपालिका–१ जोड्न महाकालीमाथि आठ सय मिटर लम्बाइको चार लेन पुलको दुवैतर्फ २६/२६ सय मिटर लम्बाइ र ६/६ सय मिटर चौडाइका पोखरी ठूलो ढुंगाको प्रयोग गरेर निर्माण गर्नुपर्ने सुरुको डिजाइन थियो।

निर्माण कम्पनीले ठूला ढुंगा नपाएपछि ढुंगा र कंक्रिटको गाइड बन्ड बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो। तर उक्त डिजाइन विभागबाट स्वीकृत हुन सकेको छैन। महाकाली नदीमा साढे ५ लाख क्युसेकसम्मको बहावले २ सय ५२ किलोसम्मको ढुंगा बगाउन नसक्ने एक अध्ययनले देखाएको छ।

सोहीअनुरूप ठूला ढुंगा प्रयोग गरेर गाइड बन्ड बनाउने डिजाइन तयार पारिएको हो। २०७४ भदौमा निर्माण सुरु भएको पुलको समयावधि तीन पटक म्याद थपेर चैत १५ मा सकिँदै छ। सुरुमा यसको निर्धारित बजेट ३ अर्ब २७ करोड थियो भने भेरिएसन गरेर ३ अर्ब ६६ करोड पुगेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार