कैलाली जिल्लामा प्राकृतिक तालहरूको संरक्षणमा थप चुनौती

कोईली ताल

कैलाली : पृथ्वी, मानव, जलचर जीव तथा वन्यजन्तुका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्र पछिल्लो केही वर्ष यता मासिँदै गएको छ । राज्यका निकायबाटै पनि सिमसार मास्ने कार्यमा हस्तक्षेप बढेको बताइएको छ । स्थानीय तहले राजस्व आम्दानीका नाममा प्राकृतिक ताल धमाधम ठेकेदारको जिम्मा लगाएका छन् ।

कैलाली जिल्लामा प्राकृतिक तालहरूको संरक्षणमा थप चुनौती देखिएको छ । यहाँका तालतलैया र सिमसार क्षेत्रको अवस्था नाजुक रहेको संरक्षणकर्मी एवं चराविद् हिरूलाल डङ्गौराले बताए । उनका अनुसार वसन्ता कोरिडोरमा रहेका प्राकृतिक ताल सुक्खा नलाग्दै सुकिसकेका छन् । माछापालनका लागि प्राकृतिक ताल सुकाउने, जथाभाबी खन्नेलगायत समस्याले सिमसार क्षेत्र सकिँदै गइरहेको छ ।

दलदलयुक्त तालतलैया, जलाशय, छोरलहियालगायतलाई सिमसार क्षेत्र भनिन्छ । सिमसारमाथि जलीय प्राणी, जीवजन्तु, चराचुरुङ्गीको मात्रै नभई मानव अस्तित्व निर्भर रहेको छ । कैयौँ ठुला सिमसार सुकिसकेका छन् ।

भजनी नगरपालिकामा रहेको पुरैना ताल, भकरैया ताल, दिदीबहिनी ताल, पिरहुवा ताल सुकेर खेती गर्ने जमिनमा परिणत भइसकेका छन् । प्राकृतिक तालहरूले अस्तित्व गुमाइरहेको सामुदायिक वन समन्वय समिति भजनीका पूर्वअध्यक्ष एवं संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउनुहुन्छ । सिमसार प्राणी अस्तित्वसँग मात्रै नभई संस्कार, धार्मिकतासँग पनि जोडिएको श्रेष्ठको जिकिर छ । थारू समुदायको पिटरहुवा र भोज विवाहको संस्कार पूरा गर्न आवश्यक पर्ने माछा, घोँगी, गँगटो दलदलबाटै प्राप्त हुने गर्छन् ।

स्थानय तहले तालहरू ठेक्कामा लगाउँदा चरम दोहनसँगै जैविक विविधता खलबलाएको सहायक वन अधिकृत राजीव चौधरीले बताए । उनले प्राकृतिक तालहरूको पारिस्थितिकीय प्रणालीमा असर पुग्दा रैथाने प्रजातिका बोटबिरुवा तथा चराचुरुङ्गी हराउँदै गएको जिकिर गरे ।

“प्राकृतिक तालमा माछापालन गरेर ठेकेदारले त्यसमा नाइट्रोजन, फस्फोरस, चुना, दाना हाल्ने काम गरिरहेका छन्,” सहायक वन अधिकृत चौधरीले भने, जसले गर्दा रैथाने प्रजातिका माछा र जलचर पनि लोप हुने क्रम बढेको छ ।”

सिमसार मासिँदै गएका कारण खडेरी पर्ने, पानीको मुहान सुक्नेलगायका समस्या देखा परेका छन् तर पनि सिमसार संरक्षणको क्षेत्रमा तीनै तहको सरकारबाट संरक्षणका लागि लगानी नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

स्थानीय तहले सिमसार क्षेत्रलाई आम्दानीका लागि ठेक्का दिए पनि सिमसार संरक्षण, जगेर्ना तथा यसको महत्वबारे जनचेतना जगाउन नसक्दा नासिँदै गएको पाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार