१४औं राष्ट्रपति रनिङ शिल्ड : बुगंलको ऐतिहासिक सफलता, १३ स्वर्णसहित उपाधि जित्यो

धनगढी : बझाङको बुगंल नगरपालिकाले जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । बुगंलले पहिलोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो ।

केदारस्युँ गाउँपालिका–९ झोतामा आइतबार सम्पन्न प्रतियोगितामा सर्वाधिक १३ स्वर्ण, २ रजतसहित बुगंलले शिल्ड उचालेको हो । प्रतियोगितामा विभिन्न खेलमा १३ स्वर्ण, २ रजतसहित जम्मा १५ पदक जितेको नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिए ।

स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै मञ्जु खडायतले छात्रातर्फको एक सय मिटरको छोटो दौड र छात्रातर्फकै लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय मिटर दौडमा स्वर्ण प्राप्त गरिन् ।

निशा बोहराले १५ सय मिटरको लामो दौड र तीन हजार मिटरको लामो दौडमा स्वर्ण दिलाइन् । यस्तै अनिल धानुकले सटपट र बियाना बिकले ज्यावलिङ्गी थ्रो खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

यस्तै रजत पदकका लागि सचिन कुवँरले रिले दौड र सरिता ऐडीले छात्रा तर्फको रिले दौडमा पदक जित हात पारेका हुन ।

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा केदारस्युँ गाउँपालिकाले ६ स्वर्ण, ६ रजत र ५ काँस्य गरी जम्मा ११ पदक जितेर दोस्रो भएको छ । यस्तै जयपृथ्वी नगरपालिकाले ४ स्वर्ण, ६ रजत र ४ काँस्य गरी १४ पदक हातपार्दै तेस्रो भएको छ ।

जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए।

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ । जिल्ला खेलकुद समितिको आयोजना र केदारस्युँ गाउँपालिकाको सहआयोजनाका प्रतियोगिता सञ्चालन भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार