सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी संकटमा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी संकटमा

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन्। उनी हिजो (विहिबार) मात्र मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

तर सोडारीलाई मुख्यमन्त्रीका लागि समर्थन गरेकी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद बनेकी टीका थापाले समर्थन फिर्ता लिने घोषणा गरेपछि मुख्यमन्त्री बनेको भोलिपल्ट नै सोडारी अल्पमतमा पर्न पुगेका छन्।

मुख्यमन्त्री बनेका सोडारी नेतृत्वमा अहिलेसम्म नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरी मन्त्रीमा नियुक्त भएका छन्। बाँकी अहिलेसम्म कोहि पनि मन्त्री बनेका छैनन्।

एकीकृत समाजवादीबाट मुख्य मन्त्री भएका सोडारी नेतृत्वको सरकारमा एमाले तत्काल सहभागी नहुने भएको छ भने माओवादीले पनि मन्त्री बन्न कसैलाई पठाएको छैन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले अडान छाडेपछि सुदूरपश्चिममा गठबन्धनभित्रबाटै एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका हुन्।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद) र स्वतन्त्र सांसदको समर्थन जुटाएका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री सोडारीले बिहीबार नै प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। उनीसँगै नागरिक उन्मुक्तिका कैलाश चौधरीले भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका हुन्।

एमालेले केन्द्रबाट सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने निर्देशन दिएपछि बिहीबार दिउँसोसम्म गठबन्धन दलहरूका बीचमा अन्योल थियो। दिउँसोसम्म एमाले सांसदहरूले पार्टी अध्यक्षबाट निर्देशन नआएसम्म समर्थन नगर्ने अडान कायम राखेपछि सोडारीले कांग्रेससँग मिलेर भए पनि दाबी पेस गर्ने तयारी सँगसँगै अघि बढाएका थिए।

एमाले अध्यक्ष ओलीले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई टेलिफोन गरेर समर्थन गर्न निर्देशन गरेपछि सोडारीले अपराह्न चार बजे प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाटै मुख्यमन्त्रीमा परेको दोहोरो दाबीलाई यसअघि खारेज गर्दै दोस्रो पटक बिहीबार साँझ ५ बजेसम्म समयसीमा तोकेका थिए।

सोडारी २०७४ को निर्वाचनपछि सामाजिक विकासमन्त्री थिए। एक महिलासँगको अश्लील संवादको अडियो’ का आधारमा उनीमाथि नैतिक प्रश्न उठाउँदै पार्टीले मन्त्रीबाट बर्खास्त र अनिश्चितताका लागि पार्टीबाट हटाइएको थियो। उनीमाथि लागेको आरोपमा सफाइ पाइसकेपछि एमालेले बखेडा झिकेको भन्दै समाजवादीका नेताहरूले कांग्रेससँगको गठबन्धनमा जोड दिँदै आएका थिए। एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि सोडारीको विकल्प खोज्न चाहेको थियो।

उनको पुरानो पृष्ठभूमिलाई कारण देखाएर अन्तिम समयसम्म अर्को व्यक्ति अघि सार्ने आग्रह गरे पनि एकीकृत समाजवादीले नमानेपछि गठबन्धन बचाउन अन्ततः पुष्पकमल दाहाल र केपी शर्मा ओली झुकेका थिए। ४६ वर्षीय सोडारी कैलाली–४ (१) बाट निर्वाचित सांसद हुन्। दोस्रो पटक सांसद निर्वाचित भएका सोडारी एमाले विभाजनका बेला एकीकृत समाजवादीतर्फ लागेका हुन्।

प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको पहिलो चरणमा आफ्नो दललाई मुख्यमन्त्री दिने सहमति पालना नभएको भन्दै एकीकृत समाजवादीले केन्द्रीय गठबन्धनसँगै विद्रोह गरेर कांग्रेससहितको गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण चौधरीको पक्षमा समर्थन जनाएको थियो।

दुई जनाको दाबीलाई थाती राखेर बसेका प्रदेश प्रमुखले गठबन्धनबिच एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी गरेपछि दोहोरो दाबीलाई खारेज गर्दै पुनः सरकार निर्माणका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरि २७ जनाको बहमुत पाउने भन्दै सरकारमा गएका थिए। नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य भएपनि ५ जना रेशम चौधरीको पक्षमा छन्।

रेशम सोडारीको नेतृत्वलाई समर्थन नगर्ने पक्षमा छन्। एक जनाको समर्थन नहुने वित्तिकै मुख्यमन्त्रीमा सोडारीले विश्वासको मत पाउदैनन्। ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका एक जना प्रदेश सभा सदस्यको निधन भएपछि अहिले प्रदेश सभामा ५२ जना सदस्य छन्। बहुमतमा लागि २७ जना प्रदेश सभा सदस्यको संख्या आवश्यक पर्छ। उन्मुक्तिकी टीका थापाले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि फेरि सोडारी संकटमा परेका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार