स्व. अर्जुन खड्काको स्मृतिमा आयोजना हुनलागेको टी-२० क्रिकेट ट्रफीको खेल तालिका सार्वजनिक

उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
प्रकाशित : :

धनगढी : क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी आठ टीमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । समुह बी मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं र न्यु होराईजन बुटबल रहेका छन् ।

माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुरा प्रतिस्पर्धा गर्ने भएका छन् । माघ २० गते सिवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडीले पहिलो खेल खेल्दा दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड कैलाली खेल्नेछन् । माघ २१ गते पहिलो खेलमा फेन्ड्स युवा क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा तथा दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं खेल्नेछन् ।

माघ २२ गते दशरथ चन्द एकेडेमी बैतडी र न्यु होराईजन वुटवल पहिलो तथा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् । माघ २३ गतेको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं र न्यु होराईजन वुटवलले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा खेल्नेछन् । माघ २४ गतेको पहिलो खेल क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं र दशरथ चन्द एकेडेमी बैतडीबीच हुनेछ भने दोस्रो खेलमा घोडाघोडी–११ सुख्खड कैलाली र फेन्ड्स युवा क्लब डडेल्धुरा खेल्नेछन् । माघ २५ गते लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरिया र न्यु होराईजन वुटवलले प्रतिस्पर्धा गर्नेछन् ।

माघ २६ गते पहिलो सेमिफाईनल, माघ २७ गते दोस्रो सेमिफाईनल र माघ २८ गते फाईनल खेल हुनेछन् । पहिलो सेमिफाईनल खेलमा समुह ए को विजेता र समुह बी को उपविजेता बीच फाईनल प्रवेशका लागि खेल हुनेछ भने दोस्रो सेमिफाईनलमा समुह बी को विजेता र समुह ए को उपविजेता फाईनलको यात्रा तय गर्नका लागि खेल्नेछन् । प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

  • सुदूरपश्चिमको क्रिकेट विकासका योद्धा, अर्जुन खड्का

सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा रहेका अर्जुन खड्का सुदूरपश्चिमको क्रिकेट विकासमा लामो समयदेखि सक्रिय थिए । आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा बिताएका अर्जुनको विसं २०७२ मा ४५ वर्षको उमेरमा निधन भएको थियो । एकताका विश्व क्रिकेट जगतका मास्टर ब्लास्टर सचिन तेन्दुलकर र उनी सँगै क्रिकेट खेल्थे। बाल्यकालदेखिको दोस्ती थियो दुवैबीच तर समयले कोल्टे फेरेपछि सचिनले क्रिकेट जगत्मा दुर्लभ इतिहास रचे तर खड्काले कैलालीको क्रिकेटमा रम्दै यही जीवन समर्पण गरेर अस्ताए । उनले १० बर्षसम्म धनगढी कभर्डहलमा क्रिकेट खेलाडीलाई प्रशिक्षण गराएका थिए भने पछिल्ला ५ बर्ष धनगढी क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक रहेका थिए ।

मुम्बईमा रहँदा खड्काले सचिनसँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजित अगारकर, रमेश पवार, पारस माहकेसँगै एकै टिमबाट क्रिकेट खेलेका थिए । १५ वर्षको उमेरदेखि क्रिकेटमा होमिएका उनले १७ वर्षसम्म भारतमै क्लब क्रिकेट खेले । मुम्वईको एक बैंकमा उनका वुवा काम गर्थे । त्यैं कमाईबाट उनका वुवाले धनगढीमा घरघडेरी जोडेका थिए । उनी १८ बर्षको उमेरमा क्रिकेटको नशाले परिवार छोडेर नेपाल फर्किए । अरूको देशमा केही हुँदैन भनेर धनगढी हानिएका खड्काले त्यो बेला सोचे जस्तो थिएन नेपालको क्रिकेट । न लोकप्रिय थियो न त कोही खेल्थे नै । तर उनी आएपछि सुदूरपश्चिम र कैलाली क्रिकेटको विकासले तीव्र गति लियो । मुम्बईको अनुभव साटासाट गर्दै उनले धेरै अन्तर्राष्ट्रिय खेलाडी जन्माए पनि । प्रेम चौधरीदेखि अहिलेको नेपाली क्रिकेट टीममा तहल्का मच्चाईरहेका प्रायः धनगढीका खेलाडीहरु उनकै उत्पादनहरु हुन् । जीवनका घुम्तीहरुमा बाँचुन्जेल अर्जुन खड्काले कहिल्यैं ब्याट र बलमा हात छोडेन्न । जीवनभर क्रिकेटसंग जोडिएर नै रहें । त्यही भएर सुदुरपश्चिमको क्रिकेटमा उनी जीवन्त बाँचेका छन ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट