धनगढी : धनगढी क्रिकेट एकेडेमी डिसिएका प्रतिभाशाली खेलाडी नरेन भट्ट नेपाल यू-१९ क्रिकेट टोलीको कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई आगामी यू-१९ विश्वकप एशिया छनोट प्रतियोगिताका लागि टिमको नेतृत्व सुम्पिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले उनको निरन्तर उत्कृष्ट प्रदर्शन, अनुशासन र नेतृत्व क्षमतालाई मूल्याङ्कन गर्दै नेपाल यू-१९ क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिएको हो।
बैतडीको मेलौली नगरपालिका-७ काँडाका स्थायी बासिन्दा नरेन भट्ट क्रिकेटप्रति सानैदेखि आकर्षित थिए। क्रिकेट सिक्न भारतको दिल्ली आउने जाने गरेका उनले दिल्लीबाट फर्किएपछि धनगढी क्रिकेट एकेडेमी डिसिएमा अभ्यास गर्थे भने टिममा छनौट भएका अर्का खेलाडी अशोक धामी पनि डिसिएमा निरन्तर क्रिकेट अभ्यास गर्ने खेलाडी हुन् ।
धनगढी क्रिकेट एकेडेमीका ६ खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनुबन्ध हुँदा नरेन भट्ट पनि समावेश भए । विराटनगर किंग्सबाट २ लाख रुपैयाँमा अनुबन्ध भएका नरेन यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नरेनले नेपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिताहरू खेलेका छन् । एसिसी यू-१६ इस्ट जोन कप मा नेपाललाई च्याम्पियन बनाउन उनले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए। प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशबाट खेल्दै २६७ रन बनाएका उनले मधेस प्रदेशविरुद्ध १२१ रनको शानदार शतक प्रहार गरेका थिए।
उनले आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको एक दिवसीय सिरिजमा नेपालको प्रतिनिधित्व गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको अनुभवले उनलाई उच्च प्रतिस्पर्धाका लागि अझ परिपक्व बनाएको छ।
नेपाल यू-१९ क्रिकेट टोलीमा नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), नीरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोषकुमार यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुँवर, विपिन कुमार शर्मा, नितेश पटेल, अमर मिश्र रहेका छन् । यु–१९ टिममा परेका नरेन सँगै अशोक धामी र युवराज खत्री पनि सुदूरपश्चिमका खेलाडी हुन् ।