पुर्चौडी: बैतडीमा १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बुधबार उद्घाटन गरिएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–१ स्थित विशालपार्क खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो।
जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमनकुमार भण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मन्त्री भण्डारी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा संविधानसभा सदस्य नरेन्द्र कुवँर, सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्णबहादुर कुवँर, दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कराज जोशी, पुर्चौडी नगरपालिकाका प्रमुख दीपक बम, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी लगायत जिल्लाभरिका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको थियो।

पुर्चौडी नगरपालिका खेल विकास समिति अध्यक्ष अमिर वडका अनुसार प्रतियोगितामा जिल्लाभरिका विद्यालयहरूले सहभागिता जनाएका छन्। उद्घाटन समारोहमा पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष चमन भण्डारीका अनुसार आज विभिन्न खेलहरू सम्पन्न भएका छन् भने भोलिदेखि प्रतियोगिता निरन्तर सञ्चालन हुनेछ।
