काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै रुचाइँदै आएको गीत ‘लजाउने हैछौनी’ दर्शक तथा संगीतप्रेमीको रोजाइमा पर्न थालेको छ। प्रेम, रोमान्स र मौलिक सांस्कृतिक भाव मिसिएको यो गीतले विशेषगरी सुदूरपश्चिमको देउडा संस्कृतिलाई समेट्दै दर्शकको मन छुने प्रयास गरेको छ।
यो गीतको सबैभन्दा उल्लेखनीय पक्ष भनेको करिब एक दशकपछि चर्चित कलाकार राजेश नाथ, जसलाई ‘बैतडी बाजे’को नामले चिनिन्छ, पुनः अभिनयमा फर्किनु हो। उनको दमदार उपस्थितिले भिडियोमा अलग आकर्षण थपेको छ।
गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको सुमधुर स्वरले सजिएको गीतमा गिरीकै शब्द र रोहित देउवाको संगीत रहेको छ। विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिङ र मास्टरिङले गीतलाई प्राविधिक रूपमा पनि मजबुत बनाएको छ।
भिडियोमा सुदूरपश्चिमकी लोकप्रिय मोडल मिस पविको मोहक अभिनय, दीपा शाहीको नृत्य र ‘बैतडी बाजे’को प्रभावशाली कमब्याकले विशेष प्रभाव पारेको छ। निर्देशक गौरव गिरीले प्रेम र वियोगको भावनालाई कलात्मक ढंगले प्रस्तुत गर्दै दर्शकलाई एक भावनात्मक यात्रामा डोर्याएका छन्।
भिडियोको कोरियोग्राफी सन्जु चौधरीले गरेका छन् भने छायांकन उत्तम हुमागाईँ, सम्पादन फाइनल पिक्सल नेपाल र रंग संयोजन श्याम कुँवरले गरेका छन्। नुवाकोटका रमणीय लोकेसनमा छायांकन गरिएको भिडियोलाई रिदम V.I.D. युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
निर्देशक गिरीका अनुसार गीतले नेपाली लोकसंस्कृति संरक्षण तथा सामाजिक यथार्थको चित्रण गर्ने उद्देश्य बोकेको छ। छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको भिडियोले लाखौंको मन जित्ने संकेत देखिएको छ।