धनगढी । कैलाली उद्योग वाणिज्य संघले डिभिजन वन कार्यालय कैलालीद्वारा भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका वडा नं. ४मा सडक छेउको अतिक्रमण हटाउने क्रममा भएको धरपकड तथा अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै वन क्षेत्रको गैरकानुनी अतिक्रमण नियम, कानुन तथा स्थापित प्रक्रियाअनुसार हटाउने कार्यको आफूहरूले सदैव समर्थन गर्ने स्पष्ट पारेको छ। सार्वजनिक सम्पत्ति तथा वन क्षेत्रको संरक्षण सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै संघले अतिक्रमण हटाउने नाममा नागरिकमाथि अमानवीय व्यवहार, बल प्रयोग तथा गैरजिम्मेवार कार्य स्वीकार्य नहुने जनाएको छ।
विज्ञप्तिमा विशेष गरी पुरानो टेम्पोमा किराना व्यवसाय सञ्चालन गर्दै आएकी धना देवी धामीको टेम्पोलाई वन कर्मचारीहरूले भिरबाट खसालेको भन्ने घटनाप्रति घोर भर्त्सना गरिएको छ। संघले यस्ता गतिविधिले कानुनी शासन, मानव अधिकार तथा जिम्मेवार सार्वजनिक सेवाको मूल्यमान्यतामाथि प्रश्न उठाएको उल्लेख गरेको छ।
संघका अध्यक्ष पुष्कर राज ओझाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरेका छन्।
साथै, संघले सम्पूर्ण सरोकारवाला निकायलाई कानुन, मानव अधिकार तथा नागरिक मर्यादाको सम्मान गर्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।







You must be logged in to post a comment.