धनगढी: धनगढी उप-महानगरपालिका–१२ स्थित जुगेडामा हनुमाननगर युवा क्लबले सञ्चालन गर्ने क्रिकेट ट्रेनिङ सेन्टरको शनिबार औपचारिक उद्घाटन गरिएको छ।
हनुमाननगर युवा क्लबका अध्यक्ष बालकृष्ण अवस्थीको अध्यक्षतामा सञ्चालीत कार्यक्रमका प्रमुख अतिथी फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले उक्त क्लबकाे क्रिकेट नेट प्रक्टीस जाेनकाे उद्घाटन गरेका हुन् ।
स्थानीय बालबालिका तथा युवालाई नियमित क्रिकेट प्रशिक्षणमा जोड्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने र तल्लो तहबाटै नेपाली क्रिकेटको आधार बलियो बनाउने उद्देश्यले ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको क्लबले जनाएको छ।
यस सँगै सेन्टरलाई सन् २०३६ सम्म नेपाललाई आईसीसी टी–२० विश्वकप च्याम्पियन बनाउने दीर्घकालीन लक्ष्यसहित सुवास शाहीको परिकल्पना र नेतृत्वमा सञ्चालित ‘#Champions36’ अभियानसँग जोडिएको छ।
अभियान अन्तर्गत यस अघि क्लबलाई क्रिकेट अभ्यासका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराइएको थियो। अब प्रशिक्षणको सुरुवाती तीन महिना सम्म नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका युवा क्रिकेटर विपिन रावललाई प्रशिक्षकका रूपमा खटाउने व्यवस्था मिलाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि शाहीले स्थानीय स्तरबाट सुरु हुने यस्ता प्रयासले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। सन् २०३६ सम्म नेपाललाई टी–२० विश्वकप च्याम्पियन बनाउने लक्ष्य पूरा गर्न विद्यालय, क्लब, समुदाय र खेलकर्मी बीचको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
उनले जुगेडामा स्थापना गरिएको प्रशिक्षण केन्द्रलाई ‘#Champions36’ अभियानसँग जोडेर सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
“धनगढी सधैँ नेपाली क्रिकेटको मुटुका रूपमा रहँदै आएको छ। यसअघि अभियान अन्तर्गत ऐश्वर्य विद्या निकेतनमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ। अब जुगेडाका स्थानीयसँग हातेमालो गर्दै तल्लो तहबाटै क्रिकेटको बलियो जग निर्माण गर्ने प्रयासमा थप ऊर्जा मिलेको छ,” शाहीले भने।
उनले हनुमाननगर युवा क्लबका अध्यक्ष अवस्थी सहित क्लबको सम्पूर्ण टोलीले देखाएको सक्रियता, प्रतिबद्धता र सहकार्यले सन् २०३६ सम्मको लक्ष्य हासिल गर्ने अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गरे।
क्लबका अध्यक्ष अवस्थीले ‘#Champions36’ अभियानबाट जुगेडाको डी गाउँ स्थित क्रिकेट मैदानमा प्रशिक्षण गतिविधि सञ्चालन गर्न उल्लेखनीय सहयोग प्राप्त भएको बताए। निर्माण सामग्रीदेखि प्रशिक्षक व्यवस्थापन सम्म अभियानले गरेको सहयोगले स्थानीय खेलाडीलाई नियमित अभ्यासमा जोड्न सहज हुने उनको भनाइ थियो।
“हामीले ‘#Champions36’ अभियानबाट अतुलनीय सहयोग पाएका छौँ। क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराइदिनु भएकोमा सुवास शाही सरप्रति धन्यवाद व्यक्त गर्दछौँ,” अवस्थीले भने।
प्रशिक्षकका रूपमा खटिने रावलले सुरुवाती तीन महिना सम्म स्थानीय खेलाडीलाई क्रिकेटका आधारभूत सीप, प्राविधिक पक्ष, शारीरिक तयारी र खेल अनुशासन सम्बन्धी प्रशिक्षण दिनेछन्।
अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव हासिल गरेका खेलाडीबाट स्थानीय स्तरमै प्रशिक्षण लिन पाउनु नवप्रतिभाका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
नेपाली क्रिकेटले पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो उपस्थिति विस्तार गरिरहेको अवस्थामा प्रतिभा पहिचान, नियमित प्रशिक्षण र खेलाडी विकासका लागि स्थानीय प्रशिक्षण केन्द्रहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ।
जुगेडामा सञ्चालनमा आएको सेन्टरले पनि बालबालिका तथा युवालाई व्यवस्थित प्रशिक्षणमा जोड्दै भविष्यका सम्भावनाशील खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। क्लबले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय रविन्द्र बहादुर सिंहलाई ‘हनुमाननगर स्मृति सम्मान’ प्रदान गरेको छ। त्यस्तै, तेक्वान्दो प्रतियोगितामा लगातार चारपटक स्वर्ण पदक जित्न सफल दीपा जैसीलाई पनि सम्मान गरिएको थियो।
क्रिकेटप्रति विशेष आकर्षण रहेको धनगढी क्षेत्रमा सुरु गरिएको यो पहलले स्थानीय खेलाडीका लागि प्रशिक्षणको अवसर विस्तार गर्नुका साथै क्लब, समुदाय, प्रशिक्षक र खेलकर्मीबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।







You must be logged in to post a comment.