धनगढी: धनगढीमा सञ्चालित ब्रेड बक्स द बेकरी क्याफेले आफ्नो सेवालाई क्याफे व्यवसायमा मात्र सीमित नराखी सीप विकास र रोजगारीसँग जोडेको छ। ब्रेड बक्सले धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलस्थित नयाँ आउटलेटमा ‘ब्रेड बक्स द कफी स्कुल’ सञ्चालनमा ल्याएको हो।
कफी स्कुलमार्फत व्यावसायिक बरिस्टा बन्न चाहने युवालाई १५ दिने तालिम प्रदान गरिनेछ। तालिममा कफी बनाउने विधि, मेसिन सञ्चालन, दूधको प्रयोग तथा ल्याटे आर्टलगायत क्याफेमा काम गर्न आवश्यक व्यावहारिक सीप सिकाइने जनाइएको छ।
तालिम पूरा गरेका प्रशिक्षार्थीका लागि एक महिनाको इन्टर्नसिपसमेत राखिएको छ। यसले प्रशिक्षार्थीलाई सिकेको सीप वास्तविक कार्यस्थलमा प्रयोग गर्ने र क्याफे सञ्चालनको अनुभव लिने अवसर दिने ब्रेड बक्सको विश्वास छ।
यसै बीच, प्रशिक्षार्थीलाई सशुल्क इन्टर्नसिप र रोजगारीको अवसर उपलब्ध गराउन ब्रेड बक्स द कफी स्कुलले गोदावरी प्लान्ट्स एन्ड क्याफेसँग सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
समझदारीपत्रमा गोदावरी प्लान्ट्स एन्ड क्याफेका सञ्चालक वीरेन्द्र भट्ट र ब्रेड बक्स द कफी स्कुलका म्यानेजर रविन्द्र परियारले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार ब्रेड बक्स द कफी स्कुलबाट बरिस्टा तालिम पूरा गरेका विद्यार्थीले गोदावरी प्लान्ट्स एन्ड क्याफेमा एक महिनाको सशुल्क इन्टर्नसिप गर्न पाउनेछन्। इन्टर्नसिप सफलतापूर्वक पूरा गर्ने प्रशिक्षार्थीलाई क्याफेको आवश्यकताका आधारमा रोजगारीमा निरन्तरता दिने अवसरसमेत प्रदान गरिनेछ।
ब्रेड बक्सको यो पहलले कफीसम्बन्धी तालिम, व्यावहारिक अनुभव र रोजगारीलाई एउटै प्रक्रियामा जोडेको छ। दुवै संस्थाले सहकार्यबाट स्थानीयस्तरमै दक्ष बरिस्टा उत्पादन हुनुका साथै कफी व्यवसायमा रोजगारी र उद्यमशीलताका नयाँ अवसर विस्तार हुने अपेक्षा गरेका छन्।






