मदिरा व्यवसायी संघ कैलालीको चुनावमा शतप्रतिशत मतदान, कमल बम प्यानल विजयी

उपाध्यक्ष विनोद बलायरलाई सर्वाधिक १०९ मत, कोषाध्यक्ष चौधरीलाई १०४, सचिव बोहरा र सदस्य धामीलाई १०१/१०१ मत

प्रकाशित : :

धनगढी : मदिरा व्यवसायी संघ कैलालीको नेतृत्व चयनका लागि पहिलोपटक भएको निर्वाचनमा शतप्रतिशत मतदाता सहभागी भएका छन्। दुई प्यानलबीच भएको प्रतिस्पर्धाबाट कमल बम नेतृत्वको प्यानलका उम्मेदवार विजयी हुँदै नयाँ कार्यसमिति चयन भएको छ।

अध्यक्षमा बमले ९५ मत प्राप्त गर्दै सागर शमशेर राणालाई पराजित गरे। राणाले ५२ मत पाए। अध्यक्षका दुई उम्मेदवारबीच ४३ मतको अन्तर रह्यो । संघमा कुल १४९ मतदाता रहेकोमा सबै १४९ जनाले मतदान गरेका थिए।

खसेका मतमध्ये दुई मतपत्र पूर्णरूपमा बदर भएकाे निर्वाचन समिति सदस्य समीर प्रशाद भट्टले जानकारी दीए । अध्यक्ष तर्फका १४७ सदर मतमध्ये बमले करिब ६४.६ प्रतिशत र राणाले ३५.४ प्रतिशत मत प्राप्त गरेका छन्।

निर्वाचन समिति सदस्य भट्टका अनुसार मतदान गर्नेहरू मध्ये दुई जना बिरामी अवस्थाका मतदाता थिए भने किरियामा रहेका एक जना मतदाता समेत मतदान स्थल पुगेर मताधिकार प्रयोग गरेका थिए। व्यक्तिगत कठिन परिस्थितिका बाबजुद उनीहरू मतदानमा सहभागी भएपछि संघमा एक जना मतदाताको पनि मत छुटेन।

समग्र मतपरिणाममा उपाध्यक्ष विनोद बलायरले १०९ मत प्राप्त गर्दै निर्वाचनकै सर्वाधिक मत ल्याएका छन्। त्यसपछि कोषाध्यक्ष राकेश कुमार चौधरीले १०४ तथा सचिव पूर्ण बहादुर बोहरा र सदस्य दिपक धामीले समान १०१ मत प्राप्त गरेका छन्।

उपाध्यक्षतर्फ भने अन्तिम सिटको प्रतिस्पर्धा निकै रोचक रह्यो। तीन पदका लागि पाँच उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा दिपेन्द्र बहादुर सिंह ८२ मतसहित निर्वाचित हुँदा महेन्द्र कुमार सिंह ७९ मतमा रोकिए। जम्मा तीन मतले उपाध्यक्षको अन्तिम सिटको फैसला भएको हो। अर्का उम्मेदवार काली प्रसाद जोशीले ५३ मत प्राप्त गरे।

महासचिवका प्रतिस्पर्धी भरत बोहराले ४९ मत, सचिवका प्रतिस्पर्धी लोक राज जोशीले ४२ तथा कोषाध्यक्षका प्रतिस्पर्धी गगन कुन्जेडाले ४० मत प्राप्त गरे।

सदस्यतर्फ निर्वाचित पाँच जनापछि पुष्कर देव भट्टले ७०, राजेन्द्र चौधरीले ५८, जय बहादुर चौधरीले ५० र तिर्थ राज भण्डारीले २६ मत प्राप्त गरेका थिए।

यस्तो बन्यो नयाँ कार्यसमिति:

निर्वाचनबाट अध्यक्षदेखि सदस्यसम्म १२ जना चयन भएका छन् भने सह-कोषाध्यक्षमा साजन कुँवर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

पदनिर्वाचितप्राप्त मत
अध्यक्षकमल बम९५
उपाध्यक्षविनोद बलायर१०९
उपाध्यक्षरविन्द्र थापा८३
उपाध्यक्षदिपेन्द्र बहादुर सिंह८२
महासचिवमधन राज उपाध्याय९७
सचिवपूर्ण बहादुर बोहरा१०१
कोषाध्यक्षराकेश कुमार चौधरी१०४
सह-कोषाध्यक्षसाजन कुँवरनिर्विरोध
सदस्यगणेश बहादुर बोहरा९५
सदस्यदिपक धामी१०१
सदस्यचन्द्रा कुमारी बोगटी९६
सदस्यराम कृष्ण चौधरी८३
सदस्यपुरन बहादुर राना८३

निर्वाचित उम्मेदवार : प्राप्त मतका आधारमा राख्दा

क्रमपदनिर्वाचितप्राप्त मत
१उपाध्यक्षविनोद बलायर१०९
२कोषाध्यक्षराकेश कुमार चौधरी१०४
३सचिवपूर्ण बहादुर बोहरा१०१
३सदस्यदिपक धामी१०१
५महासचिवमधन राज उपाध्याय९७
६सदस्यचन्द्रा कुमारी बोगटी९६
७अध्यक्षकमल बम९५
७सदस्यगणेश बहादुर बोहरा९५
९उपाध्यक्षरविन्द्र थापा८३
९सदस्यराम कृष्ण चौधरी८३
९सदस्यपुरन बहादुर राना८३
१२उपाध्यक्षदिपेन्द्र बहादुर सिंह८२

दुई प्यानल, साझा मुद्दा तर मतदाताको रोजाइ बम समूह:

संघको नयाँ नेतृत्वका लागि कमल बम र सागर शमशेर राणा नेतृत्वका दुई प्यानल चुनावी मैदानमा थिए। निर्वाचनअघि दुवै समूहले व्यवसायीसमक्ष आफ्ना एजेन्डा सार्वजनिक गरेका थिए। व्यवसायीको हकहित संरक्षण, संस्थागत सुधार, आर्थिक पारदर्शिता र मदिरा व्यवसायलाई प्रविधिमैत्री बनाउने विषय दुवै पक्षका प्राथमिकतामा थिए।

त्यस अर्थमा निर्वाचन केवल अध्यक्ष वा पदाधिकारी छान्ने प्रतिस्पर्धा थिएन। संघको भावी सञ्चालन, संस्थागत सुधार र व्यवसायीका साझा समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा दुई समूहले प्रस्तुत गरेको नेतृत्व विकल्पमाथि पनि मतदाताले निर्णय दिएका थिए।

अन्तिम परिणामले भने बम नेतृत्वको समूहलाई स्पष्ट रूपमा अघि सारेको छ। अध्यक्षमा बमले फराकिलो मतान्तर कायम गर्दा एउटै प्यानलबाट प्रतिस्पर्धा गरेका अन्य उम्मेदवारसमेत निर्वाचित भएका छन्।

कैलालीको निर्वाचनलाई ‘रेकर्ड’ का रूपमा व्याख्या:

कैलाली शाखाको यो निर्वाचनलाई मदिरा व्यवसायी संघको संस्थागत अभ्यासमै विशेष घटनाका रूपमा व्याख्या गरीएकाे छ । देशभर रहेका संघका शाखामध्ये निर्वाचन मार्फत नेतृत्व चयनमा जाने पहिलो शाखा कैलाली बनेको छ। त्यसमाथि पहिलो निर्वाचनमै शतप्रतिशत मतदान हुनु र प्रतिस्पर्धामा गएको एउटा प्यानलका सबै उम्मेदवार विजयी हुनु थप रेकर्ड बनेको छ।

चुनाव सकियो, अब एजेन्डाको परीक्षा:

निर्वाचनबाट प्राप्त जनादेशसँगै नयाँ कार्यसमितिका लागि अब चुनावी प्रतिबद्धतालाई व्यवहारमा उतार्ने चरण सुरु हुनेछ। निर्वाचन अघि उठाइएका व्यवसायीको हकहित, आर्थिक पारदर्शिता, संस्थागत सुधार र प्रविधिमैत्री व्यवस्थापनका विषय अब नयाँ नेतृत्वको कार्यसम्पादन मूल्यांकन गर्ने मुख्य आधार बन्नेछन्।

पूरे प्यानल निर्वाचित हुँदा नयाँ नेतृत्वलाई निर्णय कार्यान्वयनमा सहजता हुन सक्छ तर अध्यक्षका प्रतिस्पर्धी सागर शमशेर राणाले प्राप्त गरेको ५२ मतले प्रतिनिधित्व गर्ने मतदाता समूहको धारणा र अपेक्षालाई पनि समेटेर संघलाई अघि बढाउनु नयाँ नेतृत्वका लागि उत्तिकै महत्वपूर्ण हुनेछ।

धामीले दिए बधाई, निर्वाचनमा सहयोग गर्नेलाई धन्यवाद !

निवर्तमान अध्यक्ष धामीले नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रतिस्पर्धात्मक चुनाव भए पनि निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै उनले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन समिति, सुरक्षा निकाय तथा सम्बद्ध सबै सरोकारवालालाई धन्यवाद दिएका छन्।

भदौ १६ गते शपथ र प्रमाणपत्र:

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई भदौ १६ गते मंगलबार शपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ। शपथ र प्रमाणपत्र वितरणसँगै नयाँ कार्यसमितिको औपचारिक जिम्मेवारी ग्रहण प्रक्रिया अघि बढ्नेछ।

पहिलो चुनावमै शतप्रतिशत मतदान, दुई प्यानलबीच प्रतिस्पर्धा र एउटै प्यानलको पूर्ण विजयले कैलाली शाखाको निर्वाचनलाई परिणामभन्दा बाहिर पनि अर्थपूर्ण बनाएको छ।

अब त्यस निर्वाचनले सिर्जना गरेको उत्साह र सहभागितालाई संस्थागत पारदर्शिता, व्यवसायीको हित र परिणाममुखी नेतृत्वमा रूपान्तरण गर्न सक्नु नै नवनिर्वाचित कार्यसमितिको वास्तविक परीक्षा हुनेछ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट