बझाङ हत्या प्रकरण : वडाध्यक्ष सहित चार जना पक्राउ

बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्या
प्रकाशित : :

बझाङ: बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

सिंहको मंगलबार राती खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल, छबिस पाथीभेरा गाउँपालिकाका सदस्य हुन् । हत्यारालाई कारबाही माग्दै बुधबार सदरमुकाम चैनपुरमा स्थानियहरु प्रदर्शनमा उत्रिएका थिए । पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञानबहादुर कठायत छन् । हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से१प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ ।

प्रहरीले मंगलबार राति सदरमुकाम चैनपुरको एक होटलबाट उनलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । हत्यामा संलग्न रहेको आशंका गरिएका सबै पक्राउ परिसकेको जनाउँदै खड्काले थप अनुसन्धान भइरहेको बताए ।

यसै बीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले नाराजुलुस गर्दै सदरमुकामभित्र चल्ने यातायातसमेत बन्द गराएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा टायर बालेर हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

मंगलबार दिउँसो स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ ७ बजेतिर खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमै नै मृत्यु भएको थियो ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट