बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको अनुुसन्धानलाई लिएर प्रहरी अधिकृतकै मत बाझिएको छ ।फरक–फरक समयमा अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतको मत बाझिएको हो । मत बाझिएपछि प्रहरी प्रधान कार्यालय ‘प्रहरी हेडक्वार्टर’ले हालसम्म अनुसन्धानमा खटिएका सबै अधिकृतहरुसँग छलफल सुरु गरेको छ ।
जसमा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्टदेखि पछिल्लो समयसम्म खटिएका प्रहरी अधिकृतसम्मलाई हेडक्वार्टरमा बोलाएर लगातार छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले निर्मलाको हत्यामा फरक फरक राय दिएपछि प्रहरी प्रधान कार्यालयले नै यो विषयलाई चासोका साथ हेरेको जनाएको छ ।
प्रहरीको एक टोलीले घटनामा दिलिप विष्टकै संलग्नता रहेको दाबी गर्दै आएका छन् भने अनुसन्धानमा खटिएका धेरैजसो प्रहरी अधिकारीले दिलिप नै बलात्कार र हत्यामा संलग्न भएको दाबी गर्न नसकिने तर्क गर्दै आएका छन् ।आईजीपी शैलेश थापा क्षेत्रीको निर्देशनमा निरज शाही र विश्वराज पोखरेलले सबैसँग छलफल सुरु गरेका हुन् ।
छलफलमा सहभागी एक प्रहरी अधिकृतले भने,“दुई चरणमा छलफल भएको छ । फेरि छलफल गर्ने र सबैको रिपोर्टिङ सुन्ने कुरा छ । खासगरी सुरुवाती नेतृत्व र अनुसन्धान टोलीले दिलिपलाई नै अभियुक्त भनेका छन् । अधिकांश अनुसन्धान अधिकृतले त्यसलाई अस्वीकार गरेका छौँ ।
हाम्रा बीचमा नै घटनास्थल, अनुसन्धान पद्धतीलगायत विविध विषयमा फरक मत छन् ।” हालसम्म निर्मला हत्याकाण्डको अनुसन्धानमा १६ बढी प्रहरी अधिकृत खटिइसकेका छन् । बलात्कारपछि हत्या भएको साढे २ वर्ष बितिसक्दा पनि प्रहरीले अभियुक्तको पहिचान गर्न सकेको छैन । प्रहरीले भने घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको दाबी गर्दै आएको छ ।
स्रोतका अनुसार आईजीपी क्षेत्रीले तीन महिनाभित्र सफलता हात पार्ने गरी तल्लो तहलाई निर्देशन दिएको बताइएको छ ।०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् । भासी जान निस्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।
अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । निर्मला हत्याकाण्डको अनुसन्धानमा सफलता प्राप्त नहुँदा प्रहरीको आलोचना हुँदै आएको छ । घटनाको सुरुवाती समयदेखि नै केन्द्रीय अनुसन्धान व्युरोको विषेश टोली कञ्चनपुरमै छ । हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरी आशंका छ ।
प्रहरीले ०७५ भदौमा ३९ वर्षीय दिलिप सिंह विष्टलाई निर्मला हत्याकाण्डको अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए । तत्कालीन समयमा दिलिपलाई सार्वजनिक गरेका प्रहरी अधिकारीहरु उनीबाहेक अर्कोको संलग्नता हुनै नसक्ने दाबी गर्दै आएका छन् ।
तर अन्य प्रहरी अधिकृतहरु त्यो दाबी मान्न तयार देखिँदैनन् । प्रहरीले हालसम्म ८० जनाको डीएनए परीक्षण गरिसकेको छ । -बाह्रखरीबाट