प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन : सर्वोच्च अदालत

समाचार लेख्ने सञ्चार माध्ययमलाई कानूनी कारवाहीको चेतावनी

सर्वोच्च अदालत
प्रकाशित : :

काठमाडौँ: सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच कुनै भेटघाट नभएको स्पष्ट पारेको छ।

सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच बालुबाटारमा भेटघाट भएको भनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो।

सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा मध्यरातमा छलफल भएको, प्रधानमन्त्रीले गाडी पठाएपछि प्रधानन्यायाधीशसँग बालुवाटारमा छलफल भएको तथा सवा घण्टाको छलफल पछि राति ११ बजे बाहिरिएको समाचार इमेज खबर, पहिलो क्लिक अनलाइन,नेपाल समय लगायतका सञ्चारमाध्यममा प्रकाशित भएका थिए।

यी समाचारहरु प्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवम यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासय युक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो,’ विज्ञप्तिमा भनिएका छ, ‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्य अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो।’

विज्ञप्तिमा समाचार प्रकासन गर्ने सञ्चार माध्ययमलाई कानूनी कारबाहीको चेतावनी समेत दिईएको छ।

‘यस प्रकारका कार्यहरु संविधान, कानून र स्वयम पत्रकार आचारसंहिताको समेत प्रतिकुल हुने हुँदा कानूनी दायरामा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउदछौँ।’

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट