मनसुन शुरू भएसँगै मुलुकका अधिकांश क्षेत्रमा परेको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण मुलुकभरका १ सय ५८ राष्ट्रिय राजमार्गमा क्षति पुगेको छ ।
सडक विभागले दिएको जानकारी अनुसार,बुधवारसम्म १० राष्ट्रिय राजमार्गहरू पूर्ण अवरुद्ध रहेका छन् । गत जेठ ३० गतेदेखि बुधवारसम्ममा १ सय ५८ सडकमा क्षति भएको हो ।
यस्तै ९६ सडकहरू मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएका छन् भने ५२ सडकहरू दुवैतर्फ नै सञ्चालन भइरहेका छन् ।
वर्षाका कारण मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, नुवाकोट तथा बैतडीका सडकहरूमा बढी क्षति पुगेको छ ।
यी जिल्लाका विभिन्न सडक तथा पुलमा क्षति हुँदा सडक अवरुद्ध बनेको हो ।
सडक मर्मतसम्भार भइरहेपनि अविरल वर्षाका कारण पटक पटक क्षति भएकाले सञ्चालनमा ल्याउन कठिनाई भएको विभागको भनाइ छ ।