काठमाण्डाै : नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने कार्यक्रम छ ।
टोलीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गरेको थियो।
नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेको टोलीले अस्ति बुधवार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल गरेको थियो ।
सबै नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकाले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गर्नुभएको छ । तर सत्तारुढ गठबन्धनले नै एमसीसी सम्झौताबारे स्पष्ट धारणा दिन सकेको छैन ।
हिजोको भेटमा प्रधानमन्त्री देउवाले सम्झौता अनुमोदनको लागि राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी दिनुभएको छ भने प्रचण्डले राष्ट्रिय सहमतिबाट मात्र एमसीसी अनुमोदन हुन सक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री देउवा जसरी पनि संसदबाट एमसीसी पारित गर्ने तयारीमा हुनुहुन्छ भने सत्तारूढ गठबन्धनकै माओवादी र एकीकृत समाजवादी भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् । एमालेले सरकारको धारणा आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । सत्तारुढ दलहरु नै एकमत हुन नसकेका कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा पर्नुभएको छ ।
२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधि सभामा विचाराधीन छ । एमसीसी पास गर्ने/नगर्नेबारे दलहरू विभाजित छन् ।