धनगढी : ‘म बाच्छु अनि बचाउँछु, अभियानका युवाहरूले धनगढी उप-महानगरपालिकाकी नगर उप-प्रमुख सुशीला मिश्र भट्ट लाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरूले कोरोना भाइरस कोभिड-१९ को तेस्रो भेरियन्ट ओमीक्रोन फैलिन नदिन पूर्व तयारीमा जुट्न आग्रह गर्दै १० बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पछिल्लो समय मित्र राष्ट्रहरूमा फैलिँदै गरेको कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नेपालमा पनि फैलिँदै गइरहेकोले त्यसलाई धेरै फैलिन नदिन र कोभिडको न्यूनीकरण गर्न पूर्व तयारीमा जोड दिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको ‘म बाच्छु अनि बचाउँछु’ अभियानका संयोजक सुरज खड्काले बताए ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी र नजिकै रहेकोले गौरिफन्टा सीमा नाका बाट आउने नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने आइसोलेसन, क्वारेन्टीन बनाउन पूर्व तयारी गर्नुपर्ने लगायतका सुझावहरू ध्यानाकर्षण पत्र मार्फत दिइएको छ ।
सामाजिक सञ्जालमा विरोध मात्रै होइन प्रत्यक्ष रूपमा नागरिकको जनजीविकाको सवाल र समस्या न्यूनीकरण गर्न रचनात्मक तवरले सम्बन्धित निकाय सङ्ग सबैले साझेदारी गर्न तथा ‘आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारालाई आत्मसाथ गर्न सम्बन्धीत सबैलाई आग्रह गरिएको छ ।