काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । एमालेले बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको हो ।
नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णयसहित सरकारले सार्वजनिक बिदा पनि दिने निर्णय गरेको छ । नेता नेम्वाङको मंगलबार बिहान १ः५० मिनेटमा निधन भएको थियो ।
‘उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने भएको छ । उहाँको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन अनुरोध गरिन्छ । उहाँको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।’
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेको एमालेले जनाएको छ ।







You must be logged in to post a comment.