शालीन नेताको आकस्मिक अवसान : इलामबाट उदाए, काठमाडौंमा अस्ताए नेम्वाङ

शालीन नेताको आकस्मिक अवसान : इलामबाट उदाए, काठमाडौंमा अस्ताए नेम्वाङ
सुवासचन्द्र नेम्वाङ

संविधानसभा अध्यक्षका रूपमा शालीन नेताको छवि बनाएका नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । २०५६ सालयता एमालेबाट निरन्तर संसदीय चुनाव जित्दै आएका नेम्वाङ संविधानसभा अध्यक्ष र सभामुख भएको बेला शालीन र सरल स्वभावका कारण चर्चित बनेका थिए । 

शालीन नेताको छवि बनाएका नेम्वाङको गएराति हृदयघातका कारण १ बजेर ३० मिनेटमा निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरे । 

उनको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो । नेम्वाङ विद्यार्थी राजनीति गर्दा अनेरास्ववियुबाट २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सभापतिसमेत भएका थिए । 

त्यसपछि माले हुँदै नेकपा मार्क्सवादीसँग मिलेर एमाले बनेपछि सोही पार्टीमा आवद्ध भए । एमालेमा भने नेम्वाङ छैटौं महाधिवेशनदेखि केन्द्रीय कमिटीमा आवद्ध भएका थिए । २०७१ सालको नवौं महाधिवेशनमा स्थायी कमिटी र २०७८ सालमा चितवनमा भएको १०औं महाधिवेशनबाट उनी एमालेको उपाध्यक्ष बनेका थिए । २०६४ सालमा इलाम-२ बाट विजयी बनेपछि नेम्वाङ संविधानसभाको अध्यक्ष भएका थिए । 

पहिलो संविधानसभा विघटनपछि २०७० संविधानसभा निर्वाचनपछि नेम्वाङले सभाध्यक्ष भएर संविधान लेखनमा दलहरूबीच समन्वय र समझदारी बनाउन महत्वपूर्ण भूमिका निभाए । कानूनी पृष्ठभूमिका नेम्वाङ २०४८ र २०५२ गरी राष्ट्रिय सभामा दुईपटक सदस्य भएका थिए । २०५६ सालको संसदीय निर्वाचनदेखि उनी प्रतिनिधिसभा इलामबाट विजयी हुँदै आएका थिए । कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालेका थिए । उनी २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए । 

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक नेम्वाङका दुई छोरा र दुई छोरी छन् । अघिल्लो निर्वाचनपछि जनतालाई पुर्‍याएको सेवा र जनता सँगको निकट सम्बन्धले आफूलाई विजयी बनाएको ठान्ने नेम्वाङ संविधानसभामा सङ्घीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउँदै आएका थिए । 

उनले दलहरूबीच चरम बेमेल र विवाद आउँदा संविधानसभा अध्यक्ष र सभामुखका रूपमा समन्वयकारी भूमिका निर्वाह गरेका थिए । शालीन र सौम्य प्रस्तुतिका कारण नेम्वाङ हरेक नागरिकमाझ परिचित छन् । एमालेका तर्फबाट कानून तथा न्याय, सामान्य प्रशासन मन्त्री भएका उनी संसद्को सार्वजनिक लेखा समितिको सभापतिसमेत भएका थिए । 

२०७४ को संसदीय निर्वाचनमा भने उनी एमाले र माओवादी गठबन्धनबाट विजयी भएका थिए । गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार