LPL-8 : युथ अफ टिकापुर सेमीफाइनलमा

LPL-8 : युथ अफ टिकापुर सेमीफाइनलमा
प्रकाशित : :

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समुह ’बि’ बाट युथ अफ टिकापुरले सेमीफाइनलमा स्थान समेत पक्का गरेको छ।

आज सम्पन्न पहिलो खेलमा युथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समुह चरणमा तिन वटै जितको साथ सेमीफाइनलमा स्थान सुरक्षित गर्यो। युथ अफ टिकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।

कैलालीको ब्याटिंगमा कप्तान दिपक कपडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए। युथ अफ टिकापुरका सुमित महर्जनले २ विकेट लिंदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १÷१ विकेट लिए। खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै युथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो।

टिकापुरको लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए। केसीले २७ बलमा १ चौका र ३ छक्का तथा जैसीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ३८ रनमा ४ विकेट गुमेको अवस्थामा केसी र जैसीले छैठौं विकेटको लागि ५५ रनको साझेदारी गरे।

कैलालीको बलिंगमा अभिषेक कुँवर र सुसिल बिस्टले २÷२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १÷१ विकेट लिए।
दिनको दोश्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदुरपश्चिमान्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो।
गरुडाले दिएको १७४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमान्चल एकेडेमीले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ७५ रन मात्र बनायो।

सुदुरपश्चिमान्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए। गरुडाका बलर धर्मेन्द्र साहले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा १२ रन मात्र खर्चिए। नरेस शाह, रुपेश सिंह र नितेश यादवले १÷१ विकेट लिए।
टस जितेर ब्याटिंग गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो।

गरुडाको लागि रुपेश सिंहले आक्रामक ब्याटिंग गर्दै ६० रन योगदान दिए जुन क्रममा उनले २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। निश्चल बिक्रमले अविजित ४३ रन बनाए जुन क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ७६ रनमा ६ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे।

सुदुरपश्चिमान्चलको बलिंगमा पारस सुनार र सन्दिप बिस्टले २÷२ विकेट लिए। प्रकाश जोशी, बिरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १÷१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिका बीच तथा दोश्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्स बीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट