दार्चुला : दार्चुलाको शैल्यशिखिर ९ गोकुलेश्वरमा रहेको जगतपुरी शिव धाममा सोमवार रुद्राभिषेक ग्रह शान्ति र त्रिपुरेश्वर महादेव स्थापना गरिएको छ । कार्तिक एक गतेबाट विश्व शांति, राष्ट्र शान्ति र पितृ शान्तिको कामना गर्दै कोटि होम महायज्ञ शुभारम्भ गरिएको हो ।
महायज्ञमा दैनिक बिहान बेलुका पण्डित श्री केशब राज ओझाबाट प्रवचनका साथै आरती भजन कीर्तन , पुराण वाचन गरी रहेको जगतपुरी शिव धाम कोटि होम महायज्ञ व्यवस्थापन समिति सचिव किशोर राज विष्ट ले बताए ।
कार्तिक २१ गते समापन गरिने कोटि होम महा यज्ञमा ९ गते १०८ कन्या पूजन, १५ गते १ करोड १ लाख चर्मण्यावती दीप प्रज्वलन गरी लाख बत्ती बाल्ने कार्यको उद्घाटन, १६ गते १०८ वटा गाईको दुग्ध धारा दिई गङ्गाको माताको सम्मान र १९ गते रुद्राभिषेक ग्रह शान्ति र त्रिपुरेश्वर महादेवको स्थापना जस्ता कार्य गरिएको कोटि होम महायज्ञ व्यवस्थापन समिति सदस्य पूर्ण बहादुर साउदले जानकारी दिए ।
धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको यस धाममा महाशिवरात्रिमा भव्य मेला लाग्ने गर्छ । शिव धाम क्षेत्रको सर्वाङ्गीण विकासका लागी सबै राजनैतिक दल ,सङ्घीय सरकार प्रदेश सरकार, स्थानीय सरकार ,बुद्धिजीवी समाजसेवी सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै आफू सधैँ लागि रहने साउदले बताए ।