गन्तव्य सुधार केन्द्र–धनगढीद्वारा गर्भवती महिलाका लागि २४ सै घण्टा निःशुल्क सवारी सेवा सुरु

गन्तव्य सुधार केन्द्र–धनगढीद्वारा गर्भवती महिलाका लागि २४ सै घण्टा निःशुल्क सवारी सेवा सुरु
प्रकाशित : :

धनगढी: धनगढी उपमहानगरपालिका–५, तारानगरमा अवस्थित गन्तव्य सुधार केन्द्रले गर्भवती महिलाहरूलाई लक्षित गरी २४ सै घण्टा निःशुल्क सवारी (एम्बुलेन्स) सेवा सुरु गरेको छ। समाजमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले सुरु गरिएको उक्त सेवा अन्तर्गत आपतकालीन अवस्थामा रहेका गर्भवती महिलाहरूलाई केन्द्रले सवारी साधनको पूर्ण व्यवस्थापन गरी निःशुल्करूपमा अस्पतालसम्म पुर्‍याउनेछ।

सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रले सञ्चालनमा ल्याएको यो सेवा विशेषगरी आर्थिक अभावमा रहेका, गाडीको पहुँच नभएका र विशेष गरी रातको समयमा गाडी नपाएर समस्यामा पर्ने महिलाहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ। सेवा धनगढी उप-महानगरपालिका क्षेत्रभित्र सीमित गरिएको छ।

गन्तव्य सुधार केन्द्र धनगढी क्षेत्रको सुविधासम्पन्न, व्यवस्थित र फराकिलो सुधार केन्द्रमध्ये एक मानिन्छ। हाल केन्द्रमा ४१ जना सेवाग्राही सुधार प्रक्रियामा रहेका छन् भने सयौं व्यक्ति सफल उपचारपछि समाजमा पुनः फर्किइसकेका छन्। केन्द्रले नशामुक्ति मात्र नभई व्यक्तिको जीवनशैली परिवर्तन र सामाजिक पुनर्स्थापनाका लागि पनि विभिन्न पहलहरू गर्दै आएको छ।

केन्द्रका सञ्चालक कबिन्द्र ठकुल्लाले आफूहरूको उद्देश्य नशामुक्ति मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने रहेको बताए। “गर्भवती आमाहरू आपतकालीन अवस्थामा गाडी नपाएर ज्यान जोखिममा पार्नु हुँदैन भन्ने सोचका साथ यो सेवा सुरु गरेका हौं,” ठकुल्लाले भने।

त्यस्तै अर्का सञ्चालक धरम पडालले सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएको बताउँदै यो अभियान संस्थाको सामाजिक प्रतिबद्धताको एउटा नमूना भएको बताए। “सानो प्रयासले पनि ठूलो राहत दिन सक्छ भन्ने हाम्रो विश्वास छ,” उनले भने, “हामीले हाम्रो क्षमताअनुसार गर्भवती महिलाहरूका लागि सहयोगी हात बढाएका हौं।”

गर्भवती अवस्थामा रहेका महिलाहरूले सेवा लिनको लागि केन्द्रमा सिधा सम्पर्क गर्न सक्नेछन्। सेवा समन्वयका लागि धरम पडाल (९८५८४२३८३६), कबिन्द्र ठकुल्ला (९८५११८६८९६) र भुवन पडाल (९८२२६३४२७४) लाई सम्पर्क गर्न सकिने केन्द्रले जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट