नुवाकोट । सगरमाथा आरोहणमार्फत देशको नाम विश्वसामु चिनाएका समाजसेवी सगरमाथा आरोही म्यागेन लामा यसपटक विपद परेका नागरिकको पीडामा मलम लगाउन राहत बोकेर नुवाकोट पुगेका छन्।
लामाको सहकार्यमा नुवाकोटको वटार–२ स्थित हिमालयन होल्डिङ क्षेत्रमा करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो।यस अभियानमार्फत बाढी तथा पहिरोबाट प्रभावित ७४ घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि तथा अन्य आवश्यक सामग्री प्रदान गरिएको थियो।
रसुवाको उत्तरगया गाउँपालिका–खाल्डे क्षेत्रबाट विपद्का कारण विस्थापित भई आश्रयका लागि नुवाकोट पुगेका परिवारहरूलाई लक्षित गरी राहत वितरण गरिएको थियो। घरबार तथा आफन्त गुमाएर कठिन परिस्थितिमा जीवन बिताइरहेका परिवारसम्म प्रत्यक्ष पुगेर सहयोग गर्ने उद्देश्यले टोली प्रभावित क्षेत्रमा पुगेको हो।
सगरमाथाको शिखरदेखि पीडितको बस्तीसम्म
सगरमाथाको शिखर चुमेर साहस र दृढताको उदाहरण प्रस्तुत गरेका म्यागेन लामाले सामाजिक सेवामार्फत मानवीय संवेदनाको अर्को परिचय दिइरहेका छन्। विपद्का बेला पीडितको घरदैलोमै पुगेर सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको बताउँदै लामाले राहत अभियानमा सक्रिय भूमिका निर्वाह गरेका हुन्।
राहत वितरणका क्रममा प्रभावित परिवार तथा आफन्तहरूले विपद्को भयावह अवस्थाबारे टोलीलाई जानकारी गराएका थिए। आफन्तहरूले दिएको जानकारीअनुसार २५७ बालबालिकासहित ६०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको बताएका छन्। उक्त विवरण भने सम्बन्धित निकायबाट आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको छ।
म्यागेन लामाको पहलमा गरिएको यस अभियानले विपदमा परेका परिवारलाई खाद्यान्न र दैनिक आवश्यक सामग्री मात्र होइन, आफूहरू एक्लो छैनौँ भन्ने मानवीय भरोसासमेत दिएको छ।
सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएकी वरिष्ठ समाजसेवी प्रीती घिसिङले पनि लामासँग हातेमालो गर्दै राहत अभियानलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
सगरमाथाको उचाइ चुमेका म्यागेन लामाको यो कदमले देशको शिखर चुम्नु मात्र होइन, पीडितको दुःखमा साथ दिनु पनि वास्तविक सफलता हो भन्ने सन्देश दिएको छ।





