काठमाडौँ – अन्तरिम सरकार प्रमुख बन्न लागेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सिंहदरबार परिसरस्थित गृह मन्त्रालयको नयाँ भवनमा शपथ लिने भएकी छिन् । उनले आजै कार्यकक्षमा पुगेर हाजिर पनि गर्नेछिन् ।
८ मार्चमा भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री कार्यालय जलेपछि गृह मन्त्रालयको भवनमा अब प्रधानमन्त्री कार्यालय बस्ने भएको हो। यो कार्यालयमा आज दिउँसो नै सम्पूर्ण सजिसजाउ भइसकेको छ।
सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनको विध्वंशपछि निम्तिएको राजनीतिक शून्यता हटाउनेगरी राष्ट्रपति भवन सिंहदरबारमा केहीबेर अघि कार्कीलाई अन्तरिम सरकारप्रमुख बनाउने सहमति जुटिसकेको छ ।
प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत प्रतिनिधि सभा विघटन सिफारिस गर्नेछिन् ।
शपथ ग्रहणका लागि पौडेलले कार्कीलाई तयारी भएर उपस्थित हुन भनिसकेका छन् ।
तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने :
राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन हुने छ, जसका सदस्यहरूको नाम अन्तिम चरणमा पुगेको बताइएको छ।
गत सोमबार र मंगलबार देशभर भएका प्रदर्शनहरूमा युवाहरूले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाएका थिए। साथै, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गरिएको थियो ।





