दार्चुलाः अपी हिमाल क्षेत्रमा रहेको ६ हजार ३ सय ९६ मिटर उचाइको ल्ह्यायुल पिक (भभया हिमाल) मा पहिलो पटक सफल आरोहण भएको छ।
अपी हिमाल क्षेत्रमा व्यावसायिक माउन्टेन गाइड तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीको टोलीले बिहीबार भभया हिमालको सफल आरोहण गरेको अपिहिमाल गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहराका अनुसार ७ जनाको टोलीले हिमाल आरोहण गरेको हो।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा उचाइको अपी हिमाल (७,१३१) को आरोहणलाई आकर्षण गर्न गाउँपालिकाको समन्वयमा माउन्टेन गाइड तालिम सञ्चालन भएको हो। अध्यक्ष ठेकरेका अनुसार तालिमका प्रशिक्षक लालबहादुर जिरेल, रामकाजी तिवारी, राकेशराज तामाङ र प्रशिक्षार्थीहरु सूर्यमान तामाङ, सुरज तामाङ, भीषण योन्जन, डाली शेर्पाले भभया हिमाल आरोहण गरेका हुन्।
अपिहिमाल–१ मा रहेको अपिहिमालको दायाँपट्टि भभया हिमाल रहेको छ। अपी हिमालमा पर्यटन र हिमाल आरोहणीलाई आकर्षण गर्न पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको अध्यक्ष ठकेरेले बताए।
पदमार्ग निर्माण, पर्यटन आवास गृह र अन्य पूर्वाधार निर्माणमा विभिन्न निकायको सहयोगमा काम भइरहेको उनको भनाइ छ। अघिल्लो संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्क मुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेको थियो।





