धनगढी पार्क मोडमा महादीप प्रज्वलन कार्यक्रम सम्पन्न, दिवंगत आत्माहरूको चिर–शान्तिको कामना

धनगढी पार्क मोडमा महादीप प्रज्वलन कार्यक्रम सम्पन्न, दिवंगत आत्माहरूको चिर–शान्तिको कामना
प्रकाशित : :

धनगढी । काल गति र अकाल गतिले ज्यान गुमाएका धनगढीवासीहरूका दिवंगत आत्माको शान्ति तथा सम्झनामा शनिबार साँझ धनगढी स्थित पार्क मोड, जेन्जी मार्ग वीरेन्द्र ऐश्वर्य उद्यान अगाडि महादीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम एमएसएन ग्रुपको आयोजनामा र निशर्ग हस्पिटल धनगढीको सौजन्यमा सम्पन्न भएको हो। 

कार्यक्रमले धनगढीवासीबिच मानवीय संवेदना, सहानुभूति र सामाजिक एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

साँझपख हजारौँ दीप प्रज्वलनसँगै वातावरण श्रद्धामय बनेको थियो। सहभागीहरूले मौन धारण गर्दै दिवंगत आत्माहरूको चिर–शान्तिको कामना गरे। शोकको माहौलमा एक–अर्कालाई ढाडस दिँदै, सम्झनाले पनि समाज उज्यालो हुन्छ भन्ने भाव व्यक्त गरिएको थियो।

कार्यक्रममा विशेष गरी हालै जेन्जी आन्दोलनका सहिद धनगढी–५ तारानगरका स्वर्गीय गौरव जोशीको सम्झनामा गहिरो श्रद्धाञ्जली अर्पण गरिएको थियो। 

गौरवका बुवा वासुदेव जोशी परिवारजन र सरोकारवालाहरूको उपस्थिति भावुक बनाएको थियो। जोशीले उक्त अवसरमा भावुक भावमा भने, बच्चाहरू को बलिदान खेर जान दिनु हुँदैन, मैले धनगढीमा एउटा बहादुर छोरा जन्म दिएको रहेछु । गरिब कोही नहुन, धनगढी भरीबाट पहिलो पटक सम्झिने वडा नं. ५ का अध्यक्ष र आयोजक भाइहरू लाई धन्यवाद ।

जोशीले गौरवको बलिदानलाई समाज परिवर्तनको प्रतीकका रूपमा स्मरण गर्दै देश र जनताको हितका लागि युवाहरू एक भएर अघि बढ्न प्रेरित गरे।

एमएसएन ग्रुपका प्रतिनिधिहरूले धनगढीका प्रत्येक सुख–दुःखमा साथ रहँदै सामाजिक उत्तरदायित्वमा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए । 

ग्रुपका संयोजक नरेन्द्र शाहले भने, “यो कार्यक्रमको थालनी २०७८ सालबाट भएको हो, कार्यक्रमको कन्सेप्ट मोहित क्षेत्री दाइले ल्याइसेको थियो । एमएसएन भनेको मोहित क्षेत्री, शिशिर थापा, नरेन्द्र शाह हो । अहिले हामीले कार्यक्रम थालेको पाँच वर्ष भएको छ । मृत्युले शरीर खोस्छ, तर सम्झनाले आत्मालाई अमर बनाउँछ। यही सन्देशका साथ हामीले यो दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका हौँ।”

सौजन्यदाता निशर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो मानवीय कार्यक्रममा हातेमालो गर्न पाउनु गौरवको विषय भएको बताए। उनले शोक सन्तप्त परिवारहरूलाई धैर्य र बल मिलोस् भन्ने कामना गर्दै मानवीय सेवामा निरन्तर साथ दिने आश्वासन दिए।

कार्यक्रममा उपस्थित धनगढीवासीहरूले यस्ता गतिविधिले सहरमा एकता, सहानुभूति र आपसी सहयोगको भावना बलियो बनाउने विश्वास व्यक्त गरे। धेरैले दीपको उज्यालोलाई सम्झनाको प्रतीक र सामूहिक श्रद्धाञ्जलीको रूपमा अर्थ्याए।

शान्त, भावनात्मक र उज्यालो वातावरणबिच सम्पन्न महादीप प्रज्वलनले सबै दिवंगत आत्माहरूको चिर–शान्तिको कामना गर्दै धनगढीलाई संवेदना, सहअस्तित्व र एकताको साझा भावना दिलाएको छ। 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट