धनगढी : ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धनगढीमा भव्य रूपमा मनाइएको छ। आईतबार पृथ्वी पथ प्रतिष्ठान धनगढीको आयोजनामा विभिन्न कार्यक्रमसहित पृथ्वी नारायण शाहको योगदान स्मरण गरिएको हो।
कार्यक्रम अन्तर्गत पृथ्वी नारायण चोकबाट विरेन्द्र–ऐश्वर्य उद्यानसम्म प्रभातफेरी पदयात्रा आयोजना गरिएको थियो। त्यसपछि विरेन्द्र–ऐश्वर्य उद्यान परिसरमा दिनभर विभिन्न सांस्कृतिक प्रस्तुति, दिव्य उपदेश वाचन, पुस्तक तथा ब्याज स्टल सञ्चालन गरिएको थियो। साथै गुरु गोरखनाथको खिचडी प्रसाद वितरण कार्यक्रम पनि सम्पन्न गरिएको आयोजकले जनाएको छ।
पृथ्वी पथ प्रतिष्ठान धनगढीका संयोजक रचित शाहका अनुसार साँझ दीप प्रज्वलन कार्यक्रमसहित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो। उनले पृथ्वी नारायण शाहले एकीकरण गरेको देशको महत्व वर्तमान पुस्ताले बुझ्न आवश्यक रहेको बताए।
शाहले पृथ्वी नारायण शाहद्वारा एकीकृत देश अहिले सात प्रदेशमा विभाजित भई राष्ट्रिय एकतामा चुनौती थपिँदै गएको भन्दै सबै युवाहरू एकताको सूत्रमा बाँधिएर देश जोगाउन अग्रसर हुनुपर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा धर्मगुरु आचार्य श्रीनिवास लगायत विभिन्न क्षेत्रका व्यक्तित्व, युवाहरू तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।














