धनगढी : कैलालीको धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजलाई ‘राष्ट्रिय शिक्षा सम्मान २०८३’ प्रदान गरिएको छ। शिक्षा क्षेत्रमा पुर्याएको योगदान, गुणस्तरीय शैक्षिक वातावरण तथा उत्कृष्ट शैक्षिक उपलब्धिको मूल्यांकन गर्दै कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो।
सामाजिक संस्था ‘फोकस नेपाल’ द्वारा शनिबार काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहमा कलेजलाई सम्मान गरिएको हो । उक्त सम्मान ग्रहण एसपिए कलेजका क्याम्पस प्रमुख बुध राम चैधरीले गरेका थिए।
कार्यक्रम पूर्व शिक्षा मन्त्री, तथा सांसद माननीय अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यता र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

‘समृद्धिका लागि सामाजिक अभियान’ भन्ने मूल नारासहित क्रियाशील फोकस नेपालले देशभरिका माध्यमिक विद्यालयहरूको शैक्षिक अवस्था, परीक्षाफल, भौतिक पूर्वाधार, शिक्षण प्रणाली तथा समग्र योगदानको आधारमा उत्कृष्ट विद्यालय छनोट गरी सम्मान गर्दै आएको जनाएको छ। सोही क्रममा एसपीए कलेज यस वर्ष उत्कृष्ट मावि तथा कलेजको सूचीमा पर्न सफल भएको संस्थाले उल्लेख गरेको छ।
आयोजकका अनुसार एसपीए कलेजले पर्याप्त भौतिक पूर्वाधार, आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली, दक्ष, अनुभवी तथा विषयविज्ञ शिक्षक–शिक्षिकामार्फत समयसापेक्ष र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्दै आएको कलेजले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सक्रिय बनाउँदै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको र विगतका वर्षहरूमा कलेजले हासिल गरेको उत्कृष्ट परीक्षाफललाई समेत सम्मानको प्रमुख आधार मानिएको आयोजकले जनाएको छ ।
सम्मान ग्रहणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्जुन नरसिंह केसीले गुणस्तरीय शिक्षा नै राष्ट्र विकासको आधार भएको उल्लेख गर्दै निजी तथा सामुदायिक दुवै क्षेत्रका उत्कृष्ट शैक्षिक संस्थाहरूले नेपाली शिक्षा प्रणालीलाई सकारात्मक दिशा दिएको बताउनुभयो । उहाँले एसपीए कलेजले सुदूरपश्चिम क्षेत्रमा शैक्षिक चेतना विस्तार र प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माणमा खेलेको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले एसपीए कलेजले निरन्तर रूपमा शिक्षा क्षेत्रमा सेवा दिँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि कलेजले राष्ट्रलाई सक्षम, दक्ष र जिम्मेवार जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
सम्मान समारोह सँगै ‘शिक्षा क्षेत्रका समस्या र समाधानका उपाय’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरू, विश्वविद्यालयका उपकुलपति तथा पूर्व उपकुलपतिहरू, हिसान, प्याब्सन, नेशनल प्याब्सनलगायत शैक्षिक संघसंस्थाका प्रतिनिधिहरू, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कलाकार तथा नागरिक समाजका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।







You must be logged in to post a comment.