धनगढी : माछापुच्छ्रे बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको धनगढीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमलाई तीव्रता दिँदै स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि महत्वपूर्ण सहयोग प्रदान गरेको छ। बैंकले धनगढीस्थित सेती प्रादेशिक अस्पताल र नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखालाई अत्याधुनिक स्वास्थ्य उपकरण तथा भण्डारण प्रविधि हस्तान्तरण गरेको हो।
बैंकले साउन ५ गते सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, आधुनिक र बिरामीमैत्री बनाउने उद्देश्यले १५ थान ह्वीलचेयर र १० थान पेसेन्ट मनिटर हस्तान्तरण गरेको थियो। अस्पताल परिसरमा आयोजित कार्यक्रममा माछापुच्छ्रे बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख विष्णु लामिछाने र धनगढी शाखा प्रबन्धक शिव राज पाठकले संयुक्त रूपमा सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डे र अध्यक्ष बलराम जैशी भट्टलाई उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो।

त्यसैगरी, साउन ६ गते बैंकले धनगढीस्थित नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखालाई एक थान आधुनिक ब्लड बैंक रेफ्रिजिरेटर (रक्त भण्डारण फ्रिज) हस्तान्तरण गरेको छ। बैंकका सुदूरपश्चिम क्षेत्रीय प्रबन्धक विष्णु लामिछाने र धनगढी शाखा प्रबन्धक शिव राज पाठकले संयुक्त रूपमा रेडक्रस कैलालीका सभापति लोक राज जोशी लगायतका पदाधिकारीहरूलाई सो रेफ्रिजिरेटर हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख विष्णु लामिछानेले माछापुच्छ्रे बैंकले व्यावसायिक बैंकिङ सेवासँगै समाजप्रति आफ्नो उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। “स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा बैंक निरन्तर क्रियाशील छ,” उहाँले भन्नुभयो, “सुदूरपश्चिमकै मुख्य उपचार केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पताल र संवेदनशील मानिएको रक्त व्यवस्थापन क्षेत्रमा गरिएको यो सहयोगले स्थानीय नागरिकको उपचारमा प्रत्यक्ष राहत पुग्ने र बिरामीको जीवन रक्षामा योगदान पुग्नेछ।”

बैंकका धनगढी शाखा प्रबन्धक शिव राज पाठकले मानव सेवामा समर्पित संस्थाहरूसँग सहकार्य गर्न पाउनु बैंकका लागि गर्वको विषय रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि समुदायको आवश्यकता अनुसार यस्ता जनमुखी तथा परोपकारी सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहयोग प्राप्त गरेपछि सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बैंकको यो सराहनीय पहलले अस्पतालको सेवा गुणस्तर सुधारमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो। त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोक राज जोशीले धनगढी र आसपासका क्षेत्रमा बढ्दो रक्त मागलाई व्यवस्थापन गर्न आधुनिक ब्लड बैंक रेफ्रिजिरेटर अत्यन्त उपयोगी हुने भन्दै बैंकप्रति आभार व्यक्त गर्नुभयो।

रेडक्रसमा आयोजित हस्तान्तरण कार्यक्रममा कार्यसमिति सदस्य धर्म राज जोशी, च्याप्टर डेभलपमेन्ट अफिसर नरेन्द्र भट्ट र ब्लड बैंक इन्चार्ज धरणी प्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो।
‘हामी सबैको बैंक’ भन्ने नारालाई सार्थक बनाउँदै आएको माछापुच्छ्रे बैंकले देशभर फैलिएको आफ्नो शाखा सञ्जालमार्फत दिगो विकास र सामाजिक उत्थानका विविध क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।






You must be logged in to post a comment.