काठमाडौं । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको कालो ब्यान्डले धेरैको ध्यान खिच्यो। सामाजिक सञ्जालमा कतिपयले त्यसलाई शोक जनाउन बाँधिएको कालो पट्टीका रूपमा व्याख्या गरे। तर त्यो स्वास्थ्य तथा तन्दुरुस्ती निगरानी गर्ने स्मार्ट वेयरेबल उपकरण थियो।
हुप र फिटबिटजस्ता उपकरणले मुटुको धड्कन, श्वासप्रश्वास दर, निद्रा, शारीरिक गतिविधि, तनाव र शरीरको पुनःस्थापना अवस्थासम्बन्धी विवरण संकलन गर्छन्। उपकरणमा रहेका अप्टिकल तथा गति मापन गर्ने सेन्सरले शरीरबाट प्राप्त जैविक संकेतलाई विश्लेषण गरी मोबाइल एपमार्फत प्रयोगकर्तालाई जानकारी र सुझाव दिन्छन्।
हुपमा सामान्यतया स्क्रिन हुँदैन। यो मुख्य रूपमा निद्रा, व्यायामको चाप र शरीरको पुनःस्थापना अवस्था विश्लेषण गर्न प्रयोग गरिन्छ। फिटबिटका अधिकांश मोडलमा भने समय, सूचना, दैनिक पाइला, क्यालोरी खर्च, मुटुको धड्कन र निद्रासम्बन्धी विवरण हेर्न सकिन्छ।
यस्ता उपकरणले नियमित व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र स्वास्थ्यप्रति सचेत रहन सहयोग गर्न सक्छन्। तर तिनले दिने विवरण चिकित्सकीय परीक्षणको विकल्प भने होइन। असामान्य स्वास्थ्य संकेत वा लक्षण देखिए चिकित्सकसँग परामर्श गर्नुपर्छ।





