बाढी पीडितका लागि फेरि अगाडि बढिन् समाजसेवी प्रीती घिसिङ

प्रकाशित : :

नुवाकोट । बाढीमा परेका नागरिकको पीडामा साथ दिँदै आएकी वरिष्ठ समाजसेवी प्रीती घिसिङ फेरि एकपटक मानवीय सेवाको अभियानमा अगाडि बढेकी छन्। समाजसेवामा सदैव अग्रपंक्तिमा रहेर काम गर्दै आएकी घिसिङ र समाजसेवी तथा सगरमाथा आरोही म्यागेन लामाको पहलमा नुवाकोटको वटार–२ स्थित हिमालयन होल्डिङ क्षेत्रमा करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो।

अन्नपूर्ण डेन्टलको सहकार्यमा गरिएको राहत अभियानमार्फत बाढी तथा पहिरोबाट प्रभावित ७४ घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि तथा अन्य आवश्यक सामग्री वितरण गरिएको थियो।

रसुवाको उत्तरगया गाउँपालिका–खाल्डे क्षेत्रबाट विस्थापित भई आश्रयका लागि नुवाकोट आइपुगेका परिवारहरूलाई लक्षित गरी राहत वितरण गरिएको हो। विपद्का कारण घरबार गुमाएका परिवारहरू अस्थायी आश्रयमा बसिरहेको अवस्थामा राहत टोली उनीहरू बसेको स्थानमै पुगेर सहयोग गरेको थियो।

राहत वितरणका क्रममा पीडित परिवार तथा आफन्तहरूले विपद्को भयावह अवस्थाबारे टोलीलाई जानकारी गराएका थिए।

आफन्तहरूले दिएको जानकारीअनुसार २५७ बालबालिकासहित ६०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको बताएका छन्। उक्त तथ्यांक भने सम्बन्धित सरकारी निकायबाट पुष्टि हुन बाँकी रहेको छ।

विपद्को पीडामा रहेका परिवारको अवस्था प्रत्यक्ष देखेपछि टोलीले राहतसँगै स्वास्थ्य सहयोगको आवश्यकता पनि महसुस गरेको थियो।

अभियानमा अन्नपूर्ण डेन्टलका सञ्चालकद्वय सागर जोशी र बसन्ती लामा तथा समाजसेवी मिलन मोक्तानसहितको टोली सहभागी थियो। अन्नपूर्ण डेन्टलको तर्फबाट प्रभावित परिवारलाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।

विपद्, गरिबी तथा मानवीय संकटका बेला पीडित समुदायको साथमा उभिँदै आएकी वरिष्ठ समाजसेवी प्रीती घिसिङले यसपटक पनि राहतलाई केवल सामग्री वितरणमा सीमित नराखी पीडितको वास्तविक आवश्यकता बुझ्ने प्रयास गरेकी छन्।

समाजसेवामा निरन्तर सक्रिय घिसिङले मानवीय सेवामा “पीडामा परेकाको साथमा उभिनु नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनालाई व्यवहारमा उतार्दै आएकी छन्।

उनको नेतृत्व र पहलमा गरिएको यस सहयोगले विपद्मा परेका परिवारलाई तत्काल आवश्यक सामग्रीसँगै मानसिक रूपमा समेत ठूलो सहारा दिएको छ।

त्यस्तै, म्यागेन लामाले पनि सामाजिक सेवाका विभिन्न अभियानमा सक्रिय सहभागिता जनाउँदै विपद् प्रभावित समुदायका लागि सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

राहत वितरणमा सहभागी टोलीले विपद्बाट प्रभावित परिवारको अवस्था अझै संवेदनशील रहेको भन्दै आगामी दिनमा पनि आवश्यकताअनुसार राहत, स्वास्थ्य सेवा र मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट