फर्स्ट मेयर कप राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिपमा ब्ल्याक स्टोन फिटनेस धनगढीको उत्कृष्ट प्रदर्शन

प्रकाशित : :

धनगढी । नेपालगन्जमा सम्पन्न ‘फर्स्ट मेयर कप नेसनल पावरलिफ्टिङ च्याम्पियनसिप’मा ब्ल्याक स्टोन फिटनेस धनगढीको टिमले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न तौल तथा उमेर समूहमा स्वर्ण र रजत पदकसहित महत्वपूर्ण उपाधि हात पारेको छ।

प्रतियोगितामा ब्ल्याक स्टोन फिटनेसका खेलाडीहरूले व्यक्तिगत विधातर्फ मात्रै नभई समग्रतर्फका उपाधिसमेत जित्न सफल भएका छन्। प्रतियोगितामा ब्ल्याक स्टोन फिटनेसलाई ‘बेस्ट जिम अफ द टुर्नामेन्ट’ को उपाधि समेत प्रदान गरिएको छ।

प्रतियोगितामा ५२ केजीमुनि खुला महिला विधामा प्रेम आचार्यले स्वर्ण, ७५ केजीमाथि खुला महिला विधामा कोपिला कुँवरले स्वर्ण तथा सन्ध्या श्रेष्ठले रजत पदक जितेकी छन्।

त्यस्तै, ६० केजीमुनि खुला पुरुषतर्फ संगम बिष्टले स्वर्ण तथा ८२.५ केजीमुनि खुला पुरुषतर्फ ज्ञानेन्द्र राज पाण्डेले स्वर्ण पदक जितेका छन्। ९० केजीमाथि खुला पुरुषतर्फ युधिष्ठिर सिंह घिमिरेले रजत पदक हात पारे।

ब्ल्याक स्टोन फिटनेसका खेलाडीहरूले समग्र विधामा समेत आफ्नो प्रभाव कायम राखे। संगम बिष्टले ओभरअल जुनियरतर्फ स्वर्ण पदक जित्नुका साथै ‘मेन्स ओभरअल च्याम्पियन’ को उपाधिसमेत हात पारे।

त्यस्तै, पुरुष मास्टर-१ (४० देखि ५० वर्ष) को ओभरअलमा ज्ञानेन्द्र राज पाण्डेले स्वर्ण तथा महिला मास्टर-१ (४० देखि ५० वर्ष) को ओभरअलमा सन्ध्या श्रेष्ठले स्वर्ण पदक जितेकी छन्।

यससँगै नेपालगन्जमा सम्पन्न प्रतियोगितामा ब्ल्याक स्टोन फिटनेस धनगढीको टिमले विभिन्न विधामा पदक र उपाधिसहित नगद पुरस्कारसमेत प्राप्त गरेको छ।

ब्ल्याक स्टोन फिटनेसले पछिल्लो समय पावरलिफ्टिङ खेलको विकास तथा खेलाडी उत्पादनमा सक्रिय भूमिका खेल्दै आएको छ। यसअघि पनि संस्थाले धनगढीमा राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता आयोजना गर्ने तयारी अघि बढाएको छ। 

यसैबीच, ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा आगामी असोज १७ गते धनगढीस्थित सिद्धार्थ कटेजमा ‘ब्ल्याक स्टोन क्लासिक नेसनल पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ आयोजना हुँदैछ। प्रतियोगिता वर्ल्ड पावरलिफ्टिङका नियम तथा मापदण्डअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा खुला पुरुष, खुला महिला, पुरुष मास्टर्स र पुरुष जुनियर्सलगायतका विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा नगद पुरस्कार, पदक तथा उपहार सामग्रीसहित कुल १५ लाख रुपैयाँ बराबरको पुरस्कार रहेको छ। 

खुला पुरुष तथा महिला विधाका तौल समूहमा स्वर्ण विजेताले ३० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। समग्र पुरुष तथा समग्र महिला च्याम्पियनले जनही १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

यसअघि नै प्रतियोगिताको खेलाडी दर्ता खुला गरिएको र सहभागी हुन चाहने खेलाडीका लागि प्रति व्यक्ति ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको आयोजकले जनाएको छ।

नेपालगन्जमा प्राप्त सफलतापछि ब्ल्याक स्टोन फिटनेस धनगढीले देशभरका पावरलिफ्टिङ खेलाडीलाई आगामी असोज १७ गते धनगढीमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। 

उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै अझ उत्कृष्ट अनुभव हासिल गर्ने तथा आकर्षक नगद पुरस्कार जित्ने अवसरका लागि प्रतियोगितामा सहभागी बन्न ब्ल्याक स्टोन फिटनेसले आग्रह गरेको छ। 

साथै, पावरलिफ्टिङ खेलको विकास र खेलाडीहरूको प्रतिस्पर्धा प्रत्यक्ष अवलोकन गर्न दर्शक तथा खेलप्रेमीहरूलाई समेत प्रतियोगितास्थलमा उपस्थित हुन आह्वान गरिएको छ।

उक्त प्रतियोगिता वर्ल्ड पावरलिफ्टिङ फेडरेसनको मातहतमा सञ्चालन हुँदैछ। प्रतियोगितामा फेडरेसनबाट राष्ट्रियस्तरका निर्णायक समेत खटिनेछन् भने राष्ट्रियस्तरका खेलाडीहरूको पनि सहभागिता रहनेछ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट