नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला

डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने :

स्वस्थ रहन ‘फिट’ हुन आवश्यक
स्वस्थ रहन ‘फिट’ हुन आवश्यक छ । यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यप्रति सचेत हुने, समयमा उपचार गर्ने र व्यायाम गर्नेजस्ता आधारभूत काम गर्नुपर्छ । तर, स्वस्थ हुनुमात्र ‘फिट’ हुनु होइन । सामान्यतया बराबर तौल भएका दुई व्यक्तिमध्ये ठूलो पेट हुनेमा हृदयाघातको जोखिम उच्च रहन्छ । तसर्थ, स्वस्थ जीवनशैली अपनाउन सकिए ‘फिट’ रहन सकिन्छ ।
नियमित व्यायाम
धोरैजसो समय म काममा व्यस्त हुन्छु । तर, बिहानको समय व्यायामका लागि छुट्याएको छु । व्यायामले रक्तचाप र सुगरको मात्रा नियन्त्रण गर्छ । प्रत्येक दिन करिब एक घन्टा पसिना आउने गरी व्यायाम गर्छु । स्ट्रेचिङ, वामअप र सामान्य दौड पूरा गर्छु । दिनभरि काम गरे पनि थोरै समय व्यायाम गर्ने हो भने फिट रहन सकिन्छ । नियमित व्यायाम गरेको २० वर्ष भयो । यो अवधिमा तौल तलमाथि भएको छैन ।
खेलकुद 
खेलले शरीरमा ऊर्जा प्रदान गर्छ । जसले गर्दा सकारात्मक सोचको विकास हुन्छ । तनाव व्यवस्थापन गर्न सजिलो हुन्छ । शरीरभित्रै उत्पन्न हुने ऊर्जाले पीडा कम गराउँछ ।
मेरा लागि खेल जीवनको अभिन्न अंग हो । अत्यावश्यक कामबाहेक, बिहान नियमित खेल्छु । एकदेखि दुई घन्टा टेनिस खेल्छु । कहिलेकाहीँ ब्याटमिन्टन पनि खेल्छु । अस्पतालमा काम नभए हरेक शनिबार गल्फ खेल्छु ।

खानपानमा ख्याल
खानपानमा त्यति व्यवस्थित छैन । तर, सचेत छु  । हरेक बिहान नास्ता लिने गर्छु । जसले शरीरमा ऊर्जा दिन्छ, खेल्न सजिलो गराउँछ । खेलबाट फर्केपछि दूध र केही फलफूल खान्छु । खाना भने दिउँसो अफिसमा खान्छु । बेलुका घरमा ‘हेभी’ खाना खान्छु । स्वस्थ रहन खानपान सन्तुलन हुनुपर्छ । मलाई गुलियो खान मन पर्दैन । मासु धेरै खान्न । म खानेकुरा स्वादको हिसाबले खान्छु । खानासँग सलाद र फ्रेस अमिलो–पिरो अचार खान मन पर्छ ।
तनाव व्यवस्थापन
दैनिक काममा विभिन्न तनाव भइरहन्छ । बेलुका घर फर्किंदा फ्रेस भएर जान्छु । सधैँ सकारात्मक सोच्छु । त्यसैले स्वास्थ्यमा तनावले असर पार्न सकेको छैन । हरेक समस्यालाई दूरदृष्टिबाट हेर्ने गर्छु । जसले गर्दा हरेक विषय सहज हुन्छन् । समय व्यवस्थापनमा पनि सचेत छु । यसले तनाव कम गराउन सहयोग गर्छ । तनाव जो–सुकैलाइ हुन्छ । तर, व्यवस्थापन गर्न सक्नु नै फिट हुनु हो ।   मञ्जु टेलर्र नयाँ पत्रिकाबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार