बझाङमा सिमा सुरक्षा गर्ने प्रहरी नै भोकभोकै, गाउँलेसँग पैचो मागेर गुजारा

बझाङ: यहि भदौ २० गते सिमा प्रहरी चौकी धुलीमा रहेका सबै प्रहरीले भोकै रात काटे। २१ गते सबेरै उठेर प्रहरी चौकीमा रहेका ३ जना शैनगाउँकी रुप्सी बोहराको घरमा पुगे। झिसमिसेमा नै प्रहरी आगनमा आएको देखेपछि बोहराको घरपरिवारका सदस्यहरु एकछिन अलमलमा परे। के भयो होला एकाबिहानै प्रहरी किन आए भनेर बोहराको मनमा चिसो पस्यो।

बोहराले सोधपुछ गर्दा राति भोकै बसेका कारण आफुहरु अन्न पैचो माग्न आएको एक प्रहरीले बताए। बोहराको घरमा पनि प्रशस्त अन्न थिएन। तरपनि आफुसँग भएको २ कट्ठा चामल मध्ये १ कट्ठा चामल प्रहरीलाई दिएर उनले बिदाइ गरिन।

त्यही पाएको एक कट्ठा चामलले ती प्रहरीले झण्डै ५ दिन जेनतेन गुजारा चलाए।  तर मागेको खाद्यान्न कति चलोस्, त्यो चामल पनि सकिएपछि उनीहरुले एक दुईदिन गाउँलेहरुसँग भएको खोलेले जेनतेन छाक टारे। त्यसपछि फेरि गाउँकै भिम रोकायाको घरबाट एक कट्ठा चामल लगेर उनीहरुको भान्छामा खाना पाक्यो।

भदौ २४ गते सिमा प्रहरी चौकीमा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी पुगे। प्रहरीले खाद्यान्नको समस्या बारे बताएपछि गाउँकै एक जना स्थानीयबाट उनले फेरि एक कट्ठा चामल निकालेर दिएका छन्। अहिले त्यही एक कट्ठा चामलको भरमा गुजारा चलाई राखेको छ सिमा प्रहरी चौकी धुली।

कहिले दाल हुदैन। कहिले खानका लागि अन्न हुदैन। अहिलेसम्म यसरी नै सिमा प्रहरी चौकीमा कार्यरत प्रहरीले गुजारा चलाउदै आइरहेको अवस्था छ।

उसो त २०७५ साउन २५ गते प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी र तत्कालिन प्रहरी नायव उपरीक्षक डिएसपी गणेश बम सिमा प्रहरी चौकी धुली पुगेका थिए। उनीहरु त्यहाँ पुगेपछि त्यहाँ कार्यरत प्रहरीहरु निकै खुसी भए। आफ्ना दुःख बुझ्न हाकिमहरु आए भन्दै मख्ख परे। तर उनीहरुका दुःख नत प्रमुख जिल्ला अधिकारीले बुझ्न खाजे तर डीएसपी बमले नै। त्यो टोली फर्कियो। त्यहाँ कार्यरत प्रहरीले आफ्ना हाकिमलाई दुःख भन्ने आँट गरेनन्।

यस्तै २०७५ चैत्र २२ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सहितको टोलीले पनि सिमा प्रहरी चौकी धुलीको अनुगमन गएको थियो। तर त्यतीबेला पनि उस्तै समस्या थियो। हाकिमहरु आउँदा आफ्ना दुःख बुझ्लान भन्ने आशा त्यहाँ कार्यरत प्रहरीको हुन्थ्यो। तर उक्त आशा सपनामा नै सिमित हुने गरेको प्रहरीले गुनासो गरेका छन्।

उक्त समस्याबारे स्थानीय शिक्षक धनबहादुर विष्ट भोटे भन्छन, ‘हाकिमहरु त आउँछन् तर उनीहरुका दःुख जस्ताका त्यस्तै हुन्छ। सरकारका कर्मचारीहरु नै भोकभोकै बस्नुपर्ने अवस्था हुन्छ भने हामी सर्वसाधारणको कस्तो हालत होला?’ उक्त समस्याबारे सरकारले ध्यान दिनुपर्ने उनले बताए। विष्टले प्रहरीले खाद्यान्नको सट्टा नगद रुपैँया पाउने भएपनि उक्त क्षेत्रमा नगद हालेर खाद्यान्न समेत किन्न नपाइने समस्याका कारण प्रहरीले भोकभोकै बस्नुपर्ने अवस्था आउने गरेको बताए।

यो समस्या सिमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरीलाई मात्रै नभएर साईपाल गाउँपालिका वडा नम्बर ४ र ५ का केहि गरीब घर परिवारमा समेत रहेको छ। जिल्लाकै सबैभन्दा विकट भएका कारण यहाँ वर्षातको समयमा भेडा खच्चडसम्म जाने बाटो नभएका कारण खाद्यान्न अभाव हुने गरेको छ। सदरमुकाम चैनपुरबाट झण्डै तिन दिनको पैदल यात्रा हिँडेर पुगिने धुली, न्युन्ना, बलौडी, शैनगाँउ, जगेरामा सधैजसो खाद्यान्न अभाव हुन्छ।

संकटकाल भन्दा दुःख पाउँदै राष्ट्रसेवक 
सिमा प्रहरी चौकी धुलीमा कार्यरत नवकुल सिहँलाई प्रहरीको जागीर खाएको १७ वर्ष भयो। उनी अहिलेसम्मजागीरकै शिलशिलामा १०÷१२ जिल्ला भन्दा बढी घुमेका छन्। तर यस्तो खाद्यान्नको अभाव उनले अहिलेसम्म खेप्नु परेका थिएन।

उनीभन्दा बढी प्रहरी हवल्दार जयबहादुर तिरुवा ४०÷४५ जिल्लामा पुगेको सुनाउँछन्।  उनले उक्त क्षेत्रमा संकटकालको भन्दा बढी दःुख पाएको सुनाए। उनले भने ‘संकटकालमा खानाका लागि त पाइन्थ्यो। तर यहाँ पैसा भएर पनि खाद्यान्न पाइदैन।’  ठाँउठाँउमा पहिरो, खोला भएका कारण खच्चड र भेडा नआउने भएकाले खाद्यान्न संकट भएको उनले सुनाए।

‘यहाँका स्थानीले वर्षभरी पुग्ने तरिकाले खाद्यान्न जम्मा गरेर राख्दा रहेछन्’ सिमा प्रहरी चौकीमा भर्खरै सरुवा भएर आएका प्रहरी सहायक निरीक्षक(असई) तथा इन्चार्ज दिर्घबहादुर ऐरले भने, ‘प्रहरीको कतिबेला सरुवा हुन्छ पत्तो हुदैन।’ खाद्यान्न जम्मा गर्नका लागि समस्या हुने र ठाँउ समेत नभएका कारण यहाँ कार्यरत सबै प्रहरीहरुले खाद्यान्न अभावको सामना गरेको उनले बताए।

हाल सिमा प्रहरी चौकी धुलीमा असई दिर्घबहादुर ऐरको कामान्डमा ४ जना हवल्दार, ४ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी गरी १० जना कार्यरत रहेका छन्।

समस्या समाधान गर्ने आश्वासन
उक्त समस्याबारे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक(डिएसपी) रुपक खड्काले सिमा प्रहरी चौकीमा बुझ्ने बताएका छन्।  यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक( एसएसपी) मुकेश सिहँले उक्त चौकीमा बझाङका अन्य स्थानीय तहभन्दा रासनको रकम बढी दिने गरेको बताए। रासनको सट्टा नगद नै दिने भएका कारण स्वंम प्रहरीले नै रासनको व्यवस्था गर्नुपर्ने उनले बताए।  एसएसपी सिहँले आफ्नो क्षेत्रबाट सहयोग गर्ने र जिल्लाबाट खाद्यान्न पठाउने वातावरण बनाउने बताएका छन्।

यस्तै साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले उक्त क्षेत्रमा खाद्यान्नको संकट भएको स्विकार गर्दै आफ्नो क्षेत्रबाट हुने सहयोग गरिरहेको बताएका छन्। खाद्यान्न ढुवानीका लागि गाउँपालिकाले भाडासम्म दिने गरेको बताउदै उनले खच्चड तथा भेडा जाने बाटो नभएका कारण थप समस्या भएको बताएका छन्। ‘समस्याको बारेमा प्रदेश सरकार र केन्दीय सरकारले पहल गर्न जरुरी रहेको छ’ उनले भने।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार