प्रतिरोधी क्षमता बढाउने औषधिको बिक्री पाँच गुणासम्म बढी, आफैं किनेर खानु कति ठीक?

रोग प्रतिरोधी क्षमता बढाउने औषधि

कोरोना महामारी फैलिएसँगै मान्छेहरू भिटामिन–सी, डी र जिंक चक्की किनेर खान थालेका छन्। पछिल्ला दुई-तीन महिनायता यी औषधिको बिक्री ह्वात्तै बढेको बिक्रेताहरू बताउँछन्।

सामान्य स्वास्थ्य अवस्था भएको मान्छेलाई भिटामिन–सी, डी र जिंक चक्की खान आवश्यक पर्दैन। कसैलाई डाक्टरले जाँचेर उसको शरीरमा यी तत्व कम भए खान सुझाव दिन्छन्। वा कसैलाई अनिवार्यै हुन्छ।

तर, संक्रमण ह्वारह्वार बढेसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भनेर सामान्य मान्छेहरूमा पनि यसको प्रयोग बढेको व्यापारीहरू बताउँछन्।

नेपाल हार्ट क्लिनिक, झम्सिखेल फार्मेसीबाट मासिक एक हजार चक्कीसम्म भिटामिन–सी बिक्री भइरहेको फार्मेसिस्ट नारद चौधरीले बताए। उनका अनुसार यो बिक्री दर कोरोना अघिभन्दा पाँच गुणा बढी हो।

‘कोरोनाअघि महिनाको दुई सय ट्याब्लेट बिक्न मुश्किल थियो,’ उनले भने, ‘अझ त्यो बेला डाक्टरले भनेको छ भने मात्र खानेहरू थिए। अहिले एक हजार ट्याब्लेट नै सामान्य रूपमा बिक्री हुन्छ। किन्नेहरू जो पनि हुन सक्छन्।’

खरिद गर्न विशेषज्ञ डाक्टरको अनुमति आवश्यक नपर्ने भएकाले सजिलै प्रयोगमा आएको चौधरी बताउँछन्। उनको अनुभवमा यसरी भिटामिन किन्नेमा सबै उमेर समूहका मानिस छन्।

अझ  विदेशमा बस्ने छोराछोरीको सिफारिसमा माग गर्नेहरू धेरै भएको चौधरीले जानकारी दिए।

‘अमेरिका बस्ने छोराले भिटामिन-सी खानू भनेको छ। अस्ट्रेलियाबाट छोरी र आफन्तले भनेको भिटामिन-डी खानुपर्छ रे,’ ग्राहकको भनाइ उद्धृत गर्दै चौधरीले भने, ‘फाइदा के हो थाहा छैन। ट्याब्लेट माग्छन् अनि कहिले कसरी खाने भनेर उल्टै सोध्छन्।’

भिटामिन-सीसँगै डी र जिंक चक्कीको खापत पनि उस्तै भएको चौधरी बताउँछन्। उनका अनुसार भिटामिन-डी दोब्बर बढी बिक्री भइरहेको छ।

‘ग्राहकको माग बढेकै कारण जिंक पनि बिक्री गर्न थालेका छौं। कोरोनाअघि यो थाहै थिएन भन्दा हुन्छ,’ उनले भने।

वीर अस्पतालअगाडिका औषधि विक्रेता पनि पहिलेभन्दा भिटामिन-सी धेरै बिकिरहेको बताउँछन्। पवित्रा फार्मेसीका एक बिक्रेताका अनुसार भिटामिन-सी र डीको बिक्री ५० प्रतिशत बढेको छ।

‘डाक्टरको सिफारिस लिएर पनि आउँछन्। नलिई किन्न आउनेहरू धेरै भइसके। भोलिका लागि राखेका हुन् कि खाएका छन् भन्ने चाहिँ हामीलाई थाहा हुँदैन,’ उनी भन्छन्, ‘यी औषधि किन यति प्रयोग भइरहेको छ, हामी फार्मेसिस्टलाई नै थाहा छैन। बेच्ने र किन्ने काम भइरहेको छ।’

रोग प्रतिरोधात्मक क्षमता बढी भएका व्यक्तिले सजिलै कोरोना जित्न सकिने भनिएकाले त्यही क्षमता बढाउन यी औषधि प्रयोग बढिरहेको बुझ्न सकिन्छ। व्यापारीहरू पनि यसै भन्छन्।

कलेजो रोग विशेषज्ञ सुधांशु केसी भने यो मान्न तयार छैनन्। वीर अस्पतालका डा. केसी भिटामिन भन्नेबित्तिकै यसले फाइदा मात्रै गर्ने कुरा सत्य नभएको बताउँछन्।

‘इम्युनिटी पावर बढ्छ भनेर सुनेकै आधारमा भिटामिन-सी र डी-क्याप्सुल प्रयोग बढिरहेको छ,’ डा केसी भन्छन्, ‘रोग प्रतिरोधी क्षमता बलियो हुनुपर्छ भन्ने सत्य हो। तर कोरोना रोकथाममा यी औषधि प्रयोग गर्नैपर्ने कुनै सम्बन्ध छैन।’

एकातिर यी औषधिले कोरोनामा कस्तो प्रभाव देखाउँछन् भन्ने आधिकारिक पुष्टि भएको छैन। त्यसैले यी भिटामिन चक्की लिनु कत्तिको प्रभावकारी हो भन्ने थाहै नपाई मान्छेले किनिरहेका छन्। अर्कातिर शरीरलाई आवश्यकभन्दा धेरै भिटामिन प्रयोग हानिकारक हुन सक्ने उनको भनाइ छ।

डा. केसीका अनुसार शरीरमा भिटामिन-सी बढी भए खास फरक पर्दैन। शरीरलाई चाहिनेभन्दा बढी भए सजिलै पिसाबको माध्यमबाट बाहिरिन्छ। अन्य भिटामिन-ए, डी र इको मात्रा भने बढी भए विभिन्न किसिमका रोग लाग्ने सम्भावना बढ्छ।

‘भिटामिन-डीको मात्रा बढी भए शरीरमा क्याल्सियमको मात्रा बढी हुन सक्छ जसकारण समस्याहरू आउन सक्छन्। अझ बच्चाहरूमा लिभर सिरोसिस हुन सक्छ,’ उनले भने, ‘यो भनेको कलेजोको गम्भीर समस्या हो।’

जिंक चक्की धेरै खानाले झाडापखाला, मांसपेशी बाउँडिने, रगतमा आइरन कम भएर रक्तअल्पता हुने जस्ता समस्या देखिने उनले बताए।

त्यसैले जुनसुकै औषधि वा भिटामिनहरू जानकारीबिनै अधिक प्रयोग गर्न नहुने उनी सुझाउँछन्।

डा. केसीले भने, ‘खानपान राम्रो भएको मानिसलाई थप भिटामिन क्याप्सुलहरू आवश्यकै पर्दैन। सुनेकै भरमा विभिन्न जडिबुटी र भिटामिन प्रयोग गर्नु राम्रो होइन। कोरोना रोकथाममा यी औषधिको कुनै सम्बन्ध छैन।’

थुप्रै अन्तर्राष्ट्रिय अध्ययनले भिटामिन-डीले श्वासप्रश्वास समस्या कम गराउन सघाउने देखाएका छन्। अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ का अनुसार भिटामिन-डी रूघा, मर्की र अन्य श्वासप्रश्वाससम्बन्धी समस्यामा उपयोगी हुन्छ। कोरोनामा यसको प्रभाव कत्तिको छ भन्नेबारे अध्ययन भइरहेको छ।

न्यूयोर्क टाइम्सका अनुसार मुख्यगरी शरीरमा भिटामिन-डी र प्रतिरोधी क्षमता कम भएकालाई कोरोनाले बढी नै च्याप्छ। उनीहरूमा समस्याग्रस्त लक्षण पनि देखा पर्छन्। सही मात्रामा भिटामिन-डी लिँदा कोरोना जोखिम कम हुन सक्ने हार्वर्ड र अरू विश्वविद्यालयमा भएका अध्ययनले देखाएका छन्।

भिटामिन-डी कम हुँदा शरीर कमजोर र आलस्य हुन्छ। यस्तोमा कुनै भाइरसले आक्रमण गरे झनै जटिल हुन सक्छ। त्यसैले यो चक्की खाँदा भाइरसलाई हराउन सघाउने वैज्ञानिकहरूले बताएका छन्। डाक्टरसँग नजचाइ वा सुझाव नलिई धेरै मात्रामा खाँदा यसले उल्टो नोक्सान भने गर्न सक्छ।-सेतोपाटीबाट 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार