भारतसँग सीमा जोडिएको कैलालीमा प्रत्येक पाँच किलोमिटरमा बिओपी स्थापना हुने

सशस्त्र प्रहरी बल नेपाल

धनगढीः भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बिओपी स्थापनाको पहल भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले भारतसँग जोडिएको धनगढीको पुण्टेघाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घाट, भजनी नगरपालिकाको हलौना घाट, कालापातल र पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बिओपी स्थापना गर्न लागिएको बताएका छन् ।

कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किलोमीटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल ९एसएसबी०को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले भने, “प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गर्नसकेमा सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न थप प्रभावकारी हुनेछ ।” नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा ५०० जति बिओपी स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ ।

पछिल्ला महिनामा कैलाली जिल्लाको सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको जिकिर प्रहरी उपरीक्षक कुँवरले गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार