“चाहिन्छ मलाई मेरै जनसत्ता”

ओम प्रकाश पुन
जनता भोकै मर्नु पर्ने,
तिम्रो अन्याय चुपचाप सहनु पर्ने,
शोषण र अत्याचारको विरोध गर्दा
हातमा हतकडी लाउनु पर्ने ???
राष्ट्रियताको आवाज उठाउँदा
पुलिसको डन्डा खानुपर्ने,
क्रान्ति र मुक्तिको झन्डा बोक्दा
छातीमा गोली खानु पर्ने ???
चाहिँदैन मलाई तिम्रो जनविरोधी सत्ता,
चाहिन्छ मलाई मेरै जनसत्ता।।
भनेको बेला उपचार नपाउने,
पैसा नभए उपचार नगर्ने,
पैसा हुनेलाई आइसोलेसनमा राख्ने,
पैसा नहुनेलाई क्वारेन्टाईनमा पठाउने ???
हुने खानेले उपचार पाउने,
गरिबलाई मसानघाट पठाउने,
चाहिँदैन मलाई तिम्रो धनमैत्री अस्पताल,
चाहिन्छ मलाई मेरै जनमैत्री अस्पताल।।
पैसा भए न्याय पाउने,
पैसा नभए अन्यायमा पर्ने,
पैसा हुनेलाई उन्मुक्ति दिने,
पैसा नहुनेलाई जेल पठाउने,
पैसा भए निर्दोष हुने,
पैसा नभए दोषी हुनु पर्ने ???
चाहिँदैन मलाई तिम्रो अन्यायी अदालत,
चाहिन्छ मलाई मेरै जनअदालत।।
जनता माथि डन्डा बर्साउने,
दलालहरूको संरक्षण गर्ने,
देशको सीमा रक्षा नगर्ने,
शासकको मात्रै सुरक्षा गर्ने,
प्रतिक्रान्तिको सेवा गर्ने,
क्रान्ति माथि दमन चलाउने,
दोषीलाई बचाउने,
निर्दोषलाई मुद्दा चलाउने,
राष्ट्रघाती र भ्रष्टाचारीलाई सलामी ठोक्ने,
राष्ट्रवादी र क्रान्तिकारीलाई गोली ठोक्ने ???
चाहिँदैन मलाई तिम्रो पुलिस-सेना,
त्यसैले त म अहिले
जनसत्ता निर्माण गर्दै,
जनअदालत गठन गर्दै,
जनमैत्री अस्पताल बनाउँदै,
जनमुक्ति सेना भर्ती गर्दै,
निरन्तर अघि बढिरहेको छु।।।
लेखक: नेता, ओम प्रकाश पुन, (नेपाल कम्युनिस्ट पार्टी)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार