बैतडीको पुर्चौडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन, सूचीकृत मध्ये ४५४ जना छनौट

पुरचौंडी नगरपालिका

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ। नगरपालिका भित्रबाट सूचीकृत भएका २ हजार १२ जना बेरोजगारमध्ये ४ सय ५४ जनाले एक सय दिने रोजगारी पाएका छन्।

दैनिक पाँच सय १७ रुपैयाँका हिसाबले एक सय दिनसम्म रोजगारी दिने लक्ष्यका साथ एक सय ५७ पुरुष र दुई सय ९७ जना महिलालाई रोजगारीका लागि छनौट गरिएको हो। उनीहरूले अबको सय दिनमा दुई करोड ३३ लाख बराबरको काम गर्ने छन्।

छनौट भएका सबैलाई एक दिने अभिमुखीकरण दिएर पाँच गते देखि नगरपालिका भित्रका ३० योजना निर्माण लगाइएको रोजगार संयोजक मीन महराले बताए। ‘केही वडामा काम सुरु भइसकेको छ, बाँकी वडाहरूमा पनि लगत्तै काम सुरु हुनेछ’ महराले भने ‘यो वर्ष १० वटै वडाका घोडेटो बाटो, पिसिसि बाटो, विद्यालय पर्खाल लगायतका योजनाहरूमा काम गराउने लक्ष्य रहेको छ।’

तीन वर्ष अघि सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सुरुको वर्ष २ सय ५८ जनालाई ३० दिनको रोजगार दिइएको थियो । त्यसपछि दोस्रो वर्ष थप ३ सय ८५ जनाले ३० दिन रोजगारी पाएका थिए भने यो वर्ष ४ सय ५४ लाई एक सय दिनको रोजगारीका लागि तयार पारिएको छ।

तीन वर्षमा कुल १ हजार ९७ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरेको उप मेयर जानकी ऐर बमले बताइन। ‘अहिलेको सरकारले साँझ बिहान हातमुख जोर्नै समस्या भएका व्यक्तिहरूलाई थोरै भए पनि रोजगारी दिने प्रयास गरेका छ।’ उनले भनिन्।

नगरपालिका प्रमुख रण बहादुर कुवरले पालिकाका १० वटै वडाहरूले छनौट गरेर पठाएका, विपन्न व्यक्तिहरूलाई रोजगारी दिन लागेको बताए । ‘थुप्रै विपन्न मानिसहरू छन्, भारतबाट ठुलो संख्यामा फर्केर बेरोजगार भएका छन् । सबैलाई रोजगारी दिन सकिएको छैन ।’ उनले भने ‘नगरपालिकाका अन्य कार्यक्रम मार्फत बढी भन्दा बढी जनालाई समेट्दै लगिने छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार