ट्यांकरबाटै इन्धन तस्करी, चालक र सह-चालक पक्राउ

चालक र सह-चालक पक्राउ

विराटनगर  : नेपाल आयल निगमले ढुवानीमा प्रयोग गरिरहेको ट्यांकरबाटै इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी हुने गरेको पाइएको छ । भारतको बरौनीबाट इन्धन लिएर आउने ट्यांकरले नेपालबाट पुनः फर्किएर जाँदा भने तस्करीको इन्धन लैजाने गरेको पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका–४ स्थित निगमको प्रदेश १ कार्यालय विराटनगर र प्रहरीको संयुक्त टोलीले इन्धन तस्करीमा प्रयोग गरिएको को १ ख ५९१२ नम्बरको ट्यांकर नियन्त्रणमा लिएको छ । ट्यांकर पेट्रोलीय ढुवानी व्यवसायी चरणप्रीत सिंहको रहेको निगमले जनाएको छ । प्रहरीले इन्धन तस्करीको रहस्य बाहिर आएसँगै सम्पर्कविहीन बनेका उनको खोजी गरिरहेको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार इन्धन तस्करीमा संलग्न ट्यांकरका चालक भारत अररीयास्थित मीरगञ्ज घर भएका १९ वर्षीय इमरोज आलम र सह–चालक २६ वर्षीय सजाद आलमलाई पनि पक्राउ गरिएको छ । ट्यांकरबाटै तस्करी गरेर नेपालबाट भारततिर लैजान लागिएको दुई हजार छ सय ५० लिटर डिजेल पनि बरामद गरिएको जानकारी उनले दिए ।

एसपी खड्काले नियन्त्रणमा लिइएको ट्यांकर, पक्राउ परेका चालक र सह–चालक तथा तस्करी गरेर भारत पु¥याउन खोजिएको डिजेल आवश्यक कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुले इन्धन तस्करी गरेर भारत लैजान खोजेको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि निगमको विनियम तथा प्रचलित कानुन विपरीत पेट्रोलीयम पदार्थ अपचलन गरेर राजस्व चुहावट गरेको कसूरमा कारबाही हुने जनाइएको छ ।

आयल निगम विराटनगरका प्रवक्ता दिवस विष्टका अनुसार भारतको बरौनी डिपोबाट २० हजार लिटर (२० के एल) पेट्रोल लोड गरेर उक्त ट्यांकर शुक्रबार विराटनगर आइपुगेको हो । ‘आवश्यक चेकजाँचपछि ट्यांकरलाई पेट्रोल अनलोडका लागि सुनसरीको इटहरी आसपासका चारवटा पेट्रोल पम्पमा पठाइएको थियो,’ उनले भने, ‘डिलर (पेट्रोल पम्प) मा पेट्रोल खन्याइसकेर खाली फर्किएको ट्यांकरमा चाबी लगाउन खोज्दा तस्करीको डिजेल रहेको पाइयो ।’

विष्टका अनुसार इन्धनको चोरी रोक्न ट्यांकरमा ‘लकिङ सिस्टम’ जडान गरिएको छ । उक्त ‘लक’ खोल्ने चाबी (मास्टर कि) भने बरौनी डिपो र नेपाल आयल निगमसँग मात्रै हुन्छ । उनका अनुसार बरौनी–विराटनगर आवतजावत गर्दा चालक वा कसैले ट्यांकरमा जडान गरिएको उक्त ‘लक’ खोल्न सक्दैनन् । खोल्नका लागि चाबी आवश्यक पर्छ ।

प्रवक्ता विष्टका अनुसार बरौनीदेखि लिएर नेपाल आइसकेपछि निगमबाट ‘लक’ खोलेर सम्बन्धित डिलर (पेट्रोल पम्प)मा इन्धन खन्याउनलाई ट्यांकर पठाउने गरिन्छ । नेपालबाट खाली फर्किदा पनि ट्यांकरलाई ‘लक’ गरेर पठाइन्छ । बरौनी पुगेपछि त्यसलाई खोलेर इन्धन लोड गर्दै ट्यांकरलाई पुनः ‘लक’ गरेर भारतबाट नेपालतर्फ इन्धन पठाउने गरिएको जानकारी विष्टले दिए ।

‘ट्यांकरबाट अत्याधिक मात्रामा हुने इन्धनको चोरी रोक्न ‘लकिङ सिस्टम’ सुरु गरिएको हो । त्यसलाई खोल्ने चाबी बरौनी डिपो र निगमसँग मात्रै हुन्छ,’ उनले भने, ‘बीचमा चालक वा कसैले खोल्न चाहेमा सम्भव छैन । तर डिलरमा खाली गर्न पठाएका बेला इन्धन भरेर नेपालबाट भारततिर तस्करी हुने गरेको पाइयो ।’

नेपाल आइपुगेपछि ट्यांकर खाली गर्न पठाएका समयमा बीचबाट कुनै पम्पदेखि इन्धन भरेर तस्करी गर्ने गरेको पाइएको प्रवक्ता विष्टको भनाइ छ । बरौनी डिपोमा इन्धन भर्न पठाउनलाई ‘लक’ गर्न खोज्दा उक्त ट्यांकरमा तस्करीको डिजेल फेला परेको जानकारी उनले दिए । ‘बरौनी पठाउन ट्यांकरलाई ‘लक’ गर्ने क्रममा डिजेल बाहिर निस्कियो,’ उनले भने, ‘खाली भनिएको ट्यांकरबाट डिजेल निस्किएपछि छानबिन थाल्दा तस्करी गरेर भारत लैजान खोजेको पाइयो ।’

निगमले ट्यांकरलाई तस्करी गर्नका लागि डिजेल उपलब्ध गराउने पम्पमाथि पनि छानबिन थालेको छ । घटना अनुसन्धानकै क्रममा रहेको भन्दै पम्पको नाम भने गोप्य राखिएको छ । विष्टले पम्पहरुकै मिलेमतोमा इन्धनको तस्करी भारततिर हुने गरेको पाइएपछि त्यस्ता पम्पलाई कारबाहीको दायरामा ल्याउन छानिबन एवं अनुसन्धान तीव्र पारिएको जानकारी दिए ।

भारतमा डिजेल, पेट्रोल लगायतका पेट्रोलीयम पदार्थको मूल्य धेरै भएकाले नेपालबाट तस्करी हुने गरेको पाइएको निगमले जनाएको छ । विष्टका अनुसार प्रदेश १ मा डिजेलको मूल्य प्रति लिटर ९७ रुपैयाँ ५० पैसा र पेट्रोलको एक सय १४ रुपैयाँ ५० पैसा तोकिएको छ । नेपालमा भन्दा भारतमा डिजेल प्रति लिटर ३५ रुपैयाँ ९३ पैसा र पेट्रोल ४२ रुपैयाँ महँगोे रहेको जानकारी विष्टले दिए ।

भारततिर चोरी तस्करी हुने गरेका कारण निगमले नियमित अनुगमन र नियमन गर्ने काम भने जारी राखेको उनको भनाइ छ । तर पनि तस्करी भने रोकिएको छैन । आयल निगम स्रोतले दिएको जानकारी अनुसार तस्करी रोक्नका लागि निगमले बनाएको नीति नै अव्यवहारिक छ ।

‘तस्करी रोक्न पम्पहरुमा नियमित अगनुगमन गर्नुपर्ने नीति निगमको छ,’ स्रोतले भन्यो, ‘तर पम्पहरुले मागेजति पेट्रोलीयम पदार्थ उपलब्ध गराउनैपर्ने बाध्यता पनि निगमसँग छ ।’ पम्पबाट भएको माग बमोजिम इन्धन आपूर्ति नगर्दा उपभोक्ताले नपाउने र माग भए जति दिँदा तस्करी हुने समस्या रहेको स्रोतको भनाइ छ । तस्करी रोक्नका लागि पम्पबाट हुने अत्याधिक मागको कोटा घटाउनुपर्ने, अनुगमन एवं कारबाहीलाई तीव्र पारिनुपर्ने र त्यसमा प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ । -अन्नपुर्ण पोष्टमा किशोर बुढाथोकी ले लेखेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार