महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका भेटिए बिहारको सीतामढीमा

बिहारको सीतामढीमा भेटिए महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका

महोत्तरी: मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी पुगेको पाइएको छ । उनीहरू सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए । उनले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सबै किशोरी सकुशल छन् ।

मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका किशोरीहरू नफर्किएका हुन् । बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।

मेयर साहका अनुसार स्थानीयले किशोरीहरूलाई मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेको देखेकोमा त्यसपछि उनीहरू बेपत्ता भएका थिए । उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको साहले जानकारी दिए ।

‘पारिपट्टिबाट भारतीय प्रहरीले समातेर राखेको छ, यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरिनेछ । त्यसपछि उनीहरूलाई घर–परिवारको जिम्मा लगाइन्छ,’ उनले भने ।

सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानले बताए ।

साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो । प्रहरी र स्थानीयले मिलेर रातभर खोजी गरेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । -कान्तिपुरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार